काठमाडौं । नेपालको छोचेन खोलामा बाढीका कारण बनेको प्रभाव क्षेत्र वरपर रहेका हिमचट्टानहरू जुनसुकै बेला भत्किन सक्ने जोखिम कायमै रहेको चीनले जनाएको छ। हिमचट्टान भत्किएमा थप ठूलो विपद् निम्तिन सक्ने भन्दै चिनियाँ पक्षले जोखिमको निरन्तर निगरानी गरिरहेको छ।

चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभी न्युजले मंगलबार हिमचट्टानको जोखिमबारे जानकारी सार्वजनिक गरेको हो।

ad

सीसीटीभीका अनुसार नेपालको छोचेन खोलामा भएको घटनासँगै चीनतर्फको दक्षिण–पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको ग्यिरोङ (केरुङ) काउन्टीमा देखिएको लेदोसहितको बाढीको जोखिमलाई समेत चिनियाँ अधिकारीहरूले निरन्तर मूल्यांकन गरिरहेका छन्।

चिनियाँ जलस्रोत मन्त्रालयले विपद्सँग सम्बन्धित सम्भावित जोखिम पहिचानका लागि परामर्श, अनुगमन र विश्लेषणलाई निरन्तरता दिएको जनाएको छ। विशेषगरी ग्यिरोङ साङ्पो नदी बेसिनमा हुन सक्ने थप जोखिमप्रति निगरानी बढाइएको छ।

यसैबीच, पछिल्लो रिमोट सेन्सिङ तस्बिरहरूको तुलनात्मक अध्ययनबाट ग्यिरोङ साङ्पो नदी बेसिनमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालको जलसतहमा उल्लेख्य परिवर्तन नदेखिएको चीनले जनाएको छ। ती हिमतालहरू हाल समग्रमा स्थिर अवस्थामा रहेको विश्लेषणमा उल्लेख छ।

मंगलबार बिहान नेपाली समयअनुसार ५ः४५ बजे लिइएको ड्रोन तस्बिरले भने छोचेन खोलाको प्रभाव क्षेत्रमा जम्मा भएको पानीको ठूलो हिस्सा बाहिर निस्किसकेको देखाएको छ। तल्लो तटीय क्षेत्रमा समेत नदीको बहाव अहिले सामान्य अवस्थामा रहेको चिनियाँ पक्षले जनाएको छ।

तर प्रभाव क्षेत्र वरपर रहेका हिमचट्टानको सम्भावित भत्काइको जोखिम पूर्ण रूपमा टरिनसकेको भन्दै चीनले निगरानी र जोखिम मूल्यांकनलाई निरन्तरता दिएको छ। सम्भावित जोखिमका कारण तल्लो तटीय क्षेत्रमा थप सावधानी आवश्यक रहेको चिनियाँ अधिकारीहरूको भनाइ छ।