
काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि पृथ्वी राजमार्गको नौबिसे–मलेखु खण्डका तीन स्थानमा सडक भासिएको छ। तीमध्ये कृष्णभीरमा सबैभन्दा ठूलो क्षति पुगेको सडक आयोजनाले जनाएको छ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर शचेन्द्र मिश्रका अनुसार मुग्लिनबाट करिब २३ किलोमिटर काठमाडौं दिशामा पर्ने कृष्णभीरमा झण्डै २०० मिटर सडक भासिएको छ। सडकको भित्तातर्फ रहेको डाँडामा समेत चिरा परेको उनले जानकारी दिए।
बाढीले मलेखुबाट करिब तीन किलोमिटर मुग्लिनतर्फ रहेको सीतल बजारमा पनि सडकको ठूलो हिस्सा भासिएको छ। त्यहाँ करिब ५० मिटर सडक प्रभावित भएको छ।
त्यसैगरी, मलेखु पुलबाट करिब एक किलोमिटर काठमाडौं दिशामा पर्ने परेवाभीरमा करिब १०० मिटर सडकको छेउ नदीतर्फ भासिएको छ। उक्त स्थानमा सडक कालोपत्रेसम्मै तल झरेको आयोजनाका इञ्जिनियरहरूले बताएका छन्।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डकी प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारीका अनुसार कृष्णभीरलगायतका स्थानमा त्रिशूली नदीले सडकको फेदतर्फ कटान गर्ने क्रम अझै रोकिएको छैन।
गेग्रानसहित आएको बाढीले कृष्णभीरमा नदी किनार संरक्षणका लागि निर्माण गरिएको रिटेनिङ वालसमेत बगाएको छ। अहिले पनि नदीको बहावले सडकको तल्लो भागमा क्षति पुर्याइरहेको अधिकारीले बताइन्।
नदीको सतह निरन्तर घटबढ भइरहेकाले कमजोर भागमा कटानको जोखिम थपिएको उनको भनाइ छ। चट्टानी भूभागमा नदीको प्रभाव तुलनात्मक रूपमा कम भए पनि कमजोर संरचना भएको क्षेत्रमा कटान तीव्र रहेको उनले बताइन्।
यस वर्ष त्रिशूली नदीले आफ्नो धार परिवर्तन गर्दा सडकतर्फको भागमा बढी दबाब परेको आयोजनाका सूचना अधिकारी मिश्रले बताए। उनका अनुसार नदीको नयाँ धार सडकको भित्तातर्फ केन्द्रित हुँदा सडकमुनिको भाग कमजोर भएर भासिएको हो।
‘ठूलो बाढीका कारण नदीको धार परिवर्तन हुँदा सडकको दुवैतर्फ क्षति पुगेको छ,’ मिश्रले भने, ‘कृष्णभीरमा भने तत्कालै मर्मत गरेर सडक सञ्चालन गर्ने अवस्था छैन। सीतल बजारमा भित्तातर्फको भाग काटेर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।’
परेवाभीरमा अत्यावश्यकबाहेकका सवारी रोक
परेवाभीरमा सडकको नदीतर्फको भाग भासिएपछि थप क्षतिको जोखिम बढेको छ। आयोजनाको पूर्वी खण्डका इञ्जिनियर राजीव मानन्धरका अनुसार करिब १०० मिटर सडक भासिँदा कालोपत्रेसहितको भाग तल झरेको छ।
जोखिम बढेकाले उक्त स्थानमा अत्यावश्यकबाहेकका सवारीसाधनलाई रोक लगाइएको छ। सडकको तल्लो भागबाट मर्मत गर्ने अवस्था नरहेकाले भित्तातर्फ केही भाग काटेर सडकको तल्लो सतह सम्याउने तयारी गरिएको मानन्धरले बताए।
उनका अनुसार सो काम सकेसम्म छिटो सम्पन्न गरी साँझसम्म सडक सञ्चालनमा ल्याउने तयारी छ। सडक भित्तातर्फ रहेका विद्युतका पोलसमेत सार्ने तयारी भइरहेको छ।
नौबिसे–मलेखु खण्डका दुई स्थानमा तत्काल मर्मत गरी यातायात सञ्चालन गर्न सकिने भए पनि कृष्णभीरको अवस्था गम्भीर रहेकाले त्यहाँ तत्काल सडक सञ्चालन सम्भव देखिएको छैन।
कृष्णभीरमा मुख्य सडक सञ्चालनमा समस्या हुने अवस्था देखिएपछि गोरखातर्फबाट वैकल्पिक सडक सञ्चालन गर्न सकिने सम्भावित मार्गको अध्ययनसमेत सुरु गरिएको छ। त्यस क्षेत्रका उपलब्ध सडकमध्ये उपयुक्त मार्ग पहिचान गरी आवश्यक मर्मतसम्भार गरेर वैकल्पिक सडकका रूपमा प्रयोग गर्ने तयारी भइरहेको आयोजनाले जनाएको छ।
काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको पृथ्वी राजमार्गमा दैनिक ठूलो संख्यामा सवारीसाधन आवतजावत गर्छन्। आयोजनाका अनुसार सामान्य अवस्थामा यो सडकखण्ड हुँदै दैनिक करिब १४ हजार सवारीसाधन सञ्चालन हुँदै आएका छन्।
बाढीपछि सडकका विभिन्न स्थानमा भएको क्षतिका कारण राजधानीसँग देशका अन्य भाग जोड्ने प्रमुख मार्गमा यातायात व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ।









Facebook Comments