
काठमाडौं । त्रिशूली नदीमा आएको बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि यातायात सम्पर्क विच्छेद भएका रसुवा र धादिङका सदरमुकामलाई वैकल्पिक सडकमार्फत पुनः सडक सञ्जालमा जोडिएको छ।
सडक डिभिजन नुवाकोटका प्रमुख बद्रीप्रसाद शर्माका अनुसार बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग पहिचान गरी दुवै जिल्लाका सदरमुकामसम्म यातायात सञ्चालन हुने व्यवस्था मिलाइएको हो।
रसुवातर्फ टोखा–गुर्जे–छहरे हुँदै बाहुनेबेसी, समरथली र जिरो किलोमिटरबाट पासाङल्हामु मार्गमार्फत पुग्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। हाल उक्त सडकमा साना सवारीसाधन सञ्चालन भइरहेका छन्।
ठूला सवारीसाधनलाई समेत सञ्चालन गर्न मिल्ने गरी अर्को वैकल्पिक मार्ग तयार पार्ने काम भइरहेको सडक डिभिजन प्रमुख शर्माले बताए। उनका अनुसार हाल सञ्चालनमा रहेको बाटोबाट साना सवारीसाधनलाई आवतजावत गराइए पनि ठूलो क्षमताका सवारीका लागि थप सहज मार्ग आवश्यक रहेकाले त्यसको खोजी र सुधारको काम भइरहेको छ।
यसैगरी, धादिङ सदरमुकाम धादिङबेसीसँगको सडक सम्पर्क पनि वैकल्पिक मार्गबाट पुनः सञ्चालनमा ल्याइएको छ। मलेखु–धादिङबेसी सडकअन्तर्गत फुर्केखोलामा रहेको त्रिशूली पुलमा बाढीले क्षति पुर्याएपछि मुख्य सडकबाट यातायात सञ्चालन हुन सकेको थिएन।
त्यसको विकल्पमा मासटार र गल्छीमा रहेका सुरक्षित पुल प्रयोग गरी त्रिशूली नदीको दाहिने किनार हुँदै गजुरीटारबाट धादिङबेसी पुग्ने मार्ग सञ्चालनमा ल्याइएको हो। यससँगै धादिङ सदरमुकाम पनि वैकल्पिक सडकमार्फत यातायात सञ्जालमा जोडिएको शर्माले जानकारी दिए।
‘बाढीका कारण रसुवा र धादिङ सदरमुकाम सडक सम्पर्कबाट विच्छेद भएका थिए। अहिले हामीले अन्य वैकल्पिक बाटोबाट दुवै सदरमुकामलाई सडक सञ्जालमा जोडिसकेका छौं,’ शर्माले भने।
उनका अनुसार रसुवातर्फ टोखा, गुर्जे र छहरे हुँदै बाहुनेबेसी, समरथली, जिरो किलोमिटर र पासाङल्हामु मार्गबाट जाने बाटो सुचारु गरिएको छ। उक्त सडकमा साना सवारी सञ्चालनमा आइसकेका छन् भने ठूला सवारीका लागि अर्को वैकल्पिक मार्ग तयार पार्ने काम भइरहेको छ।
धादिङतर्फ भने मासटारबाट त्रिशूली नदीको दाहिने किनार हुँदै गजुरीटार भएर धादिङबेसी पुग्ने सडक सञ्चालनमा ल्याइएको उनले बताए।
बाढीले नुवाकोटमा त्रिशूली नदी वारिपारिको सडक सम्पर्कमा समेत ठूलो असर पारेको छ। नदीमाथि रहेका विभिन्न पुलमा क्षति पुगेपछि नियमित यातायात सञ्चालन प्रभावित भएको सडक डिभिजनले जनाएको छ।
गल्छीदेखि त्रिशूली नदीको दाहिने किनार हुँदै कोलोनी र त्रिशूलीसम्म पुग्ने अर्को वैकल्पिक सडक खोल्ने काम भइरहेको शर्माले बताए। उक्त मार्ग सञ्चालनमा आएपछि नदीका विभिन्न स्थानमा क्षति पुगेका पुलका कारण प्रभावित यातायातलाई थप सहज बनाउन सकिने अपेक्षा गरिएको छ।
क्षतिग्रस्त पुलका कारण उत्पन्न यातायात समस्या समाधान गर्न त्रिशूली र देवीघाटमा बेलीब्रिज राख्ने तयारीसमेत भइरहेको छ।
सडक डिभिजन नुवाकोटले दुवै स्थानमा बेलीब्रिज जडानका लागि नेपाली सेनासँग समन्वय गरिरहेको जनाएको छ। बेलीब्रिज सञ्चालनमा आएपछि बाढीका कारण अवरुद्ध भएका सडक मार्गमा यातायात सेवा थप सहज हुने अपेक्षा गरिएको छ।
सडक डिभिजन प्रमुख शर्माका अनुसार नुवाकोट, धादिङ र रसुवा जिल्लामा बाढीले सडक र पुलमा ठूलो क्षति पुर्याएको छ। विशेषगरी त्रिशूली नदीमा रहेका पुल तथा गल्छी आयोजनाअन्तर्गतका सडकमा क्षति हुँदा नियमित यातायात सञ्चालनमा गम्भीर समस्या देखिएको हो।
उनले प्रभावित क्षेत्रमा यातायात सेवा सकेसम्म छिटो सञ्चालनमा ल्याउन प्रदेश सरकार, स्थानीय तह र सडक विभागअन्तर्गतका अन्य निकायसँग समन्वय भइरहेको बताए।
बाढीबाट सडक पूर्वाधारमा मात्र नभई सडक डिभिजन नुवाकोटका कर्मचारी तथा भौतिक संरचनामा समेत क्षति पुगेको शर्माले जानकारी दिए। क्षतिग्रस्त संरचनाको अवस्था मूल्यांकन गर्दै तत्काल सञ्चालन गर्न सकिने मार्गलाई प्राथमिकतामा राखेर काम भइरहेको उनले बताए।









Facebook Comments