
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका भक्तपुरका १९ जनामध्ये ६ जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार एक जनाको भने मृत्यु पुष्टि भएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक कार्कीले बाढीपछि भक्तपुर ठेगाना भएका १९ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको जानकारी दिए। तीमध्ये ६ जना सम्पर्कमा आइसकेका छन्।
कार्कीका अनुसार सम्पर्कविहीनमध्ये भक्तपुरका इञ्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु पुष्टि भइसकेको छ। उनको शव भदौ १२ गते फेला परेको परिवारका तर्फबाट जानकारी दिइएको छ।
वातावरण संरक्षण समितिका अध्यक्ष सत्यसुन्दर प्रजापतिका मामा न्हुछेबहादुर प्रजापतिले बाढीमा बेपत्ता भएका सत्यसुन्दरको शव फेला परेको जानकारी दिए। उनले बाढी गएको एक साता बितिसक्दा पनि खोज तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
यसैगरी, भक्तपुर प्रहरीमा भक्तपुरबाहेक अन्य जिल्लाका स्थायी ठेगाना भएका ५६ जना व्यक्तिसमेत बाढीपछि सम्पर्कविहीन भएको विवरण आएको छ। तीमध्ये दुई जना सम्पर्कमा आइसकेका छन् भने एक जना काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत रहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।
प्रहरीका अनुसार भदौ १० गतेदेखि नेपाली सेना, हवाई माध्यम तथा ड्रोनको प्रयोग गरी बाढीमा हराइरहेकाहरूको खोजी कार्य निरन्तर भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई थप तीव्रता दिइएको प्रहरीले जनाएको छ।









Facebook Comments