
काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण पोखरा–काठमाडौं सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएपछि पोखरा र काठमाडौं आउजाउ गर्ने यात्रु तथा यातायात व्यवसायी वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन्।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बागमतीका अनुसार आइतबार कृष्णभीरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। भोटेकोशीमा आएको बाढीका कारण केही समयअघि मात्रै अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको २४ घण्टा नबित्दै पुनः पहिरोले सडक बन्द भएको हो।
राजमार्ग अवरुद्ध भएपछि सरकारले तोकेको वैकल्पिक रुटबाट सवारी सञ्चालन भइरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले बताए।
उनका अनुसार पोखराबाट काठमाडौं जाने सवारी मुग्लिनबाट चितवन हुँदै हेटौंडा र बाइरोडको बाटो प्रयोग गरेर काठमाडौं पुगिरहेका छन्। १४ सिट क्षमताका सवारीलाई भने दक्षिणकाली हुँदै हेटौंडा जाने बाटो प्रयोग गर्न अनुमति दिइएको छ।
यातायात व्यवसायीहरूले सरकारले तोकेको वैकल्पिक रुट लामो र घुमाउरो भएकाले यात्रामा समय थपिएको बताएका छन्। त्यसमा पनि सवारीको चाप बढ्दा विभिन्न स्थानमा जाम हुन थालेको उनीहरूको भनाइ छ।
व्यवसायीहरूले मध्यपहाडी लोकमार्गलाई समेत वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न दिनुपर्ने माग गरेका छन्। तर सरकारले अहिलेसम्म उक्त सडकलाई पोखरा–काठमाडौं आवतजावतको आधिकारिक वैकल्पिक रुटका रूपमा तोकेको छैन।
‘हामी सरकारले देखाएको बाटोबाटै हिँडिरहेका छौँ। मध्यपहाडी लोकमार्ग प्रयोग गर्न सरकारले विकल्प दिएको छैन,’ महासंघ अध्यक्ष सिटौलाले भने।
यता, ट्राफिक प्रहरी कार्यालय गण्डकीका अनुसार मुग्लिनदेखि पोखरासम्म पृथ्वी राजमार्गमा कुनै अवरोध छैन। मुग्लिनबाट काठमाडौं आउनेतर्फ कृष्णभीर क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
सडक तत्काल खुल्ने अवस्था छैन
कृष्णभीरमा पहिरो पन्छाएर तत्कालै सडक सञ्चालन गर्न सकिने अवस्था नरहेको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले बताए।
उनका अनुसार त्रिशूली नदीले सडकको तल्लो भाग निरन्तर कटान गरिरहेका कारण सडक भासिने र चिरिने क्रम जारी छ। करिब १ सय मिटर सडकखण्ड भासिएर चिरिएको र अहिले पैदल हिँड्नसमेत सम्भव नभएको उनले जानकारी दिए।
तत्काल सडक मर्मत गरेर यातायात सञ्चालन गर्न कठिन देखिएपछि वैकल्पिक मार्गको सम्भावनाबारे अध्ययन थालिएको मिश्रले बताए।
पश्चिम खण्ड प्रमुख डिभिजनल इन्जिनियर सजना अधिकारीका अनुसार त्रिशूलीको कटानले सडकको फेद कमजोर बनाउँदै लगेको छ। नदीले सडकको भित्तोतर्फ समेत क्षति पुर्याइरहेको उनले बताइन्।
‘नदीले लगातार कटान गरिरहेको छ। कति भाग थप भासिन्छ भन्ने अहिले नै यकिन गर्न सकिँदैन,’ उनले भनिन्।
माथि बस्ती भएकाले सडकको भित्तो काट्न पनि समस्या
अधिकारीका अनुसार सडक माथिको डाँडाको अवस्थाबारे पनि प्राविधिक अध्ययन भइरहेको छ। डाँडामा बस्ती रहेकाले सडक विस्तार वा भित्तो काटेर तत्काल मार्ग बनाउने विकल्पसमेत सहज छैन।
‘भित्तो काट्न मिल्ने अवस्था छैन, माथितिर बस्ती छ। अहिले तत्काल सडक सञ्चालन गर्न सकिँदैन,’ उनले भनिन्।
विषय विज्ञबाट विस्तृत अध्ययन गराएपछि मात्र कृष्णभीरमा सडक कसरी पुनःस्थापना गर्ने भन्नेबारे निर्णय हुने सडक आयोजनाले जनाएको छ। त्यसैले पृथ्वी राजमार्ग हुँदै पोखरा–काठमाडौं यात्रा गर्ने यात्रुले तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था छ।









Facebook Comments