तिब्बत। नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण पहिरोपछि उद्धारमा खटिएको चिनियाँ टोलीले केरुङ बन्दरगाहतर्फको अवरुद्ध सडक खुलाउने कामलाई तीव्रता दिएको छ। टोलीले मुख्य प्रभावित क्षेत्रसम्म पुग्ने सडकको १.२ किलोमिटर खण्ड मात्रै बाँकी रहने गरी मार्ग खुलाएको छ।

चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गत बुधबार आएको पहिरोले सडक, विद्युत् र सञ्चार संरचनामा ठूलो क्षति पुर्‍याएको थियो। पहिरोमा केही मानिस बेपत्ता भएपछि चिनियाँ पक्षले खोज तथा उद्धार अभियानलाई तीव्र बनाएको हो।

ad

फ्रन्टलाइन उद्धार मुख्यालयका अनुसार सोमबार बिहानसम्म ग्यिरोङ बन्दरगाहको सीमा प्रवेशद्वारबाट करिब १.२ किलोमिटर दूरीसम्मको मुख्य सडक पुनः सञ्चालनमा ल्याइएको छ। उद्धार टोलीले अब विपद्को सबैभन्दा प्रभावित क्षेत्रमा प्रवेश गरी खोजी अभियानलाई थप विस्तार गर्ने तयारी गरेको छ।

पहिरो नेपालतर्फको सीमा क्षेत्रबाट उत्पत्ति भई बुधबार बिहान ग्यिरोङ बन्दरगाह आसपासमा खसेको थियो। त्यसबाट जनधनको क्षति हुनुका साथै केही व्यक्ति बेपत्ता भएका छन्। पहिरोले बन्दरगाह जोड्ने राष्ट्रिय राजमार्ग जी–२१६ को ठूलो हिस्सा क्षतिग्रस्त भएपछि उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पुग्नसमेत कठिनाइ भएको थियो।

५०८ मिटर सडक थप खुलाइयो
उद्धार मुख्यालयका अनुसार टोलीले ग्यिरोङ बन्दरगाहको उत्तरी क्षेत्रबाट राष्ट्रिय राजमार्ग जी–२१६ हुँदै दक्षिणतर्फ सडक सफा गरिरहेको छ। सडक खुलाउने क्रममा सम्भावित जीवित व्यक्ति तथा बेपत्ता भएकाहरूको समेत खोजी भइरहेको छ।

चीन एन्नेङ ग्रुपले सोमबार १ सय ५० जना आपत्कालीन उद्धारकर्मी तथा २९ वटा मेसिन र उपकरण परिचालन गरेको छ। बिहान ८ बजेसम्म टोलीले थप ५०८ मिटर सडकबाट पहिरो हटाएर मार्ग खुलाएको जनाएको छ।

जी–२१६ नै ग्यिरोङ बन्दरगाहको सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुग्ने मुख्य पहुँचमार्ग भएकाले उद्धार अघि बढाउन सडक सञ्चालनलाई प्राथमिकता दिइएको छ।

सञ्चार सेवा पनि क्रमशः सञ्चालनमा
उद्धारसँगै अवरुद्ध सञ्चार सेवा पुनःस्थापनाको कामसमेत अघि बढाइएको छ। आइतबार दिउँसो १ः३० बजे ग्यिरोङ बन्दरगाहको सीमा प्रवेशद्वार नजिकै पहिलो आपत्कालीन बेस स्टेसन सञ्चालनमा ल्याइएको थियो।

बेस स्टेसन सञ्चालनमा आएपछि मुख्य उद्धार क्षेत्रमा सञ्चार पहुँच विस्तार भएको अधिकारीहरूले बताएका छन्।

सडक खुलाउने, सञ्चार सेवा पुनःस्थापना गर्ने र बेपत्ता व्यक्तिको खोजी गर्ने कामलाई चिनियाँ उद्धार टोलीले एकसाथ अघि बढाइरहेको छ। प्रभावित क्षेत्रमा नयाँ चरणको खोज तथा उद्धार अभियानलाई थप तीव्र बनाउने तयारी भइरहेको उद्धार मुख्यालयले जनाएको छ।