
काठमाडौँ। रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा तल्लो तटीय क्षेत्रमा शव भेटिने क्रम बढेको छ। चितवन र नवलपरासीका दुई जिल्लामा पर्ने नारायणी नदी तथा आसपासका क्षेत्रमा मात्रै ६ सयभन्दा बढी शव फेला परिसकेका छन्।
सरकारको पछिल्लो विवरणअनुसार बाढीमा परी देशभर हालसम्म ९ सय ३ जनाको शव फेला परेको छ। त्यसमध्ये चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा गरी ६ सय ३० शव भेटिएका छन्।
चितवनमा २ सय ७२, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २ सय ७ र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा १ सय ५१ शव फेला परेको सरकारी तथ्यांक छ।
बाढीको मुख्य प्रभाव परेको रसुवा र नुवाकोटमा उद्धार तथा खोजी अभियानलाई प्राथमिकता दिइएको छ। माथिल्लो क्षेत्रमा बेपत्ताको खोजी तीव्र बनाइएपछि र तल्लो क्षेत्रमा नदीको बहाव क्रमशः घट्दै गएपछि नारायणी नदीमा शव भेटिने क्रम बढेको अधिकारीहरू बताउँछन्। बाढीले बगाएका केही शव भारतसम्म पुगेका छन्।
नारायणीमा सेनाको विशेष खोजी
चितवनमा नेपाली सेनाले नारायणी नदी र आसपासका क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार अभियानलाई तीव्र बनाएको छ।
मध्य पृतनाको नेतृत्वमा गठन गरिएको टास्क फोर्सअन्तर्गत सेनाका विभिन्न युनिटलाई छुट्टाछुट्टै क्षेत्रको जिम्मेवारी दिएर खोजीमा परिचालन गरिएको छ। नयाँ गोरख गण र नयाँ सबुज गणले संयुक्त रूपमा नारायणी नदी तथा आसपासका क्षेत्रमा खोजी गरिरहेका छन्।









Facebook Comments