
काठमाडौं । रसुवालगायतका क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचान प्रक्रियामा सहयोग गर्न भारतबाट फरेन्सिक विज्ञको टोली नेपाल आइपुगेको छ।
भारतबाट आएको चौथो राहत उडानमार्फत फरेन्सिक टोली काठमाडौं आएको हो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले काठमाडौंमा टोलीका सदस्यहरूसँग भेट गरेका छन्।
भारतीय दूतावासका अनुसार टोलीले नेपाली फरेन्सिक विज्ञ तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर बाढीमा ज्यान गुमाएकाहरूको डीएनए नमुना विश्लेषण र पहिचान प्रक्रियामा प्राविधिक सहयोग गर्नेछ।
विशेषगरी रसुवामा बाढीपछि भेटिएका तथा पहिचान खुल्न नसकेका शवको पहिचानमा टोली केन्द्रित हुने बताइएको छ। बाढीका कारण विभिन्न स्थानमा शव भेटिने क्रम जारी रहेकाले मृतकको पहिचान चुनौतीपूर्ण बन्दै गएको अवस्थामा भारतीय टोलीको सहयोग उपयोगी हुने अपेक्षा गरिएको छ।
टोली नेपाल आएलगत्तै राजदूत श्रीवास्तवले सदस्यहरूसँग भेट गरी जारी राहत तथा उद्धार प्रयासबारे जानकारी लिएका छन्। उनले विपद्का बेला नेपाललाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
भारतले यसअघि पनि बाढी प्रभावितको उद्धार तथा राहतका लागि विभिन्न चरणमा राहत सामग्री, स्वास्थ्यकर्मी, उद्धार विज्ञलगायत आवश्यक सहयोग नेपाल पठाइसकेको छ। पछिल्लो फरेन्सिक टोलीको परिचालनलाई पनि नेपालमा जारी मानवीय सहयोगकै निरन्तरताका रूपमा हेरिएको छ।









Facebook Comments