काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ।

त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि आइतबार कृष्णभीरमा करिब २० मिटर लम्बाइको सडकको आधाभन्दा बढी भाग भासिएको हो। सडक भासिएसँगै पृथ्वी राजमार्गमा बिहानैदेखि यातायात प्रभावित भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ।

ad

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौँबाट बाहिरिने सवारीसाधनलाई तत्कालका लागि दुई वटा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।

ठूला सवारीसाधनलाई काठमाडौँ बाइरोड–नौबिसे–पालुङ–भैँसे हुँदै गन्तव्यतर्फ पठाउने व्यवस्था गरिएको छ भने साना सवारीसाधन तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको सुवेदीले बताए।

यसैगरी, पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको उनले जानकारी दिए।

बाढी तथा पहिरोका कारण विभिन्न स्थानका सडक तथा राजमार्ग अवरुद्ध हुन थालेकाले ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित यात्राका लागि आवश्यक जानकारी लिएर मात्र सडक प्रयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

यसैबीच, सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार कृष्णभीरमा भासिएको सडकको अवस्थाबारे अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली घटनास्थलतर्फ पठाइएको छ।

विज्ञ टोलीले सडकको भौगोलिक अवस्था तथा भएको क्षतिको विस्तृत अध्ययन गरेपछि मर्मत तथा पुनःनिर्माणको प्रक्रिया अघि बढाइने सडक विभागले जनाएको छ।