
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएकाहरूलाई विदेशमा रहेका नेपालीहरूले धमाधम सहयोग रकम सरकारी खातामा जम्मा गरिरहेका छन् । विदेशमा बस्नेहरूको सबैभन्दा ठूलो संस्था गैरआवासीय नेपाली संघका विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूले राहत रकम संकलन गरेर प्रधानमन्त्री राहत तथा उद्दार कोषमा जम्मा गर्न लागेका हुन् ।
केन्द्रीय नेतृत्व अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसिसीको आपत्कालीन बैठकले ५ करोड राहत रकम दिने घोषणा गरको थियो भने राहत बाँड्नका लागि कार्यसमितिका पदाधिकारीहरू नै नुवाकोट पुगेका थिए ।
घोषित सहयोगमध्ये करिब एक करोड रुपैयाँबराबरको राहत सामग्री प्रभावित क्षेत्रमा एनआरएनए नेतृत्वको उपस्थितिमा वितरण गरिएको र बाँकी चार करोड रुपैयाँ प्रधानमन्त्री कार्यालयको राहत कोषमा जम्मा गरिने एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले जानकारी दिए ।
संघका पदाधिकारीहरू प्रभावित क्षेत्रमा पुगेर करिब १०० पीडित परिवारसँग प्रत्यक्ष भेट गरी राहत वितरण गरेका थिए । बाँकी राहत सामग्री नेपाली सेना तथा नेपाल प्रहरीमार्फत प्रभावित क्षेत्रका नागरिकसम्म पु¥याउने व्यवस्था गरिएको छ । आइसीसीले ५ करोडको घोषणा गरे पनि अहिलेसम्म ५३ लाख मात्रै जम्मा भएको सचिवालयले जनाएको छ ।
अहिले संघले एनआरएनहरूलाई व्यक्तिगत नभई संस्थामार्फत सरकारको कोषमा रकम जम्मा गर्न आग्रह गरे पनि धेरैले सिधै प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न थालेका छन् । यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनस्र्थापनाका लागि पहिलो चरणमा संकलित ४१ हजार ९३ अस्ट्रेलियन डलर नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ । उक्त रकम करिब ४५ लाख १२ हजार ७३९ नेपाली रुपैयाँबराबर रहेको एनआरएनए अस्ट्रेलियाले जनाएको छ ।
एनआरएनए अस्ट्रेलियाले जारी गरेको विज्ञप्तिअनुसार, अस्ट्रेलियामा रहेका नेपाली समुदाय, विभिन्न संघसंस्था, व्यवसायी तथा नेपालप्रति सद्भाव राख्ने व्यक्तिहरूको सहयोगमा आपत्कालीन गोफन्डमी अभियान सञ्चालन गरी उक्त रकम संकलन गरिएको हो ।
नेपालका रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति, विस्थापन तथा भौतिक संरचना ध्वस्त भएपछि एनआरएनए अस्ट्रेलियाले राहत कोष संकलन अभियान सुरु गरेको थियो ।
अभियानमा कुल ३४८ जना व्यक्तिहरूबाट सहयोग प्राप्त भएको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवरले जानकारी दिए । नेपाली समुदाय तथा नेपालका शुभेच्छुकहरूको सहभागिताबाट संकलित रकममध्ये ४१ हजार ९३ अस्ट्रेलियन डलर २८ अगस्ट २०२६ मा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अनलाइनमार्फत बुझाइएको उनले बताए ।
यस्तै, एनआरएनए आइसीसीका पूर्वअध्यक्ष आरके शर्माले बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेका छन् । शर्माको नेतृत्वमा कतारमा रहेको पिजन इन्जिनियरिङ ग्रुपका तर्फबाट शुक्रबार २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
गैरआवासीय नेपाली अभियन्ता, व्यवसायी तथा समाजसेवी आकाश बञ्जाराले रसुवा बाढीपीडितका लागि ५ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
गोरखामा स्थायी घर भएका बञ्जारा लामो समयदेखि हङकङमा रहेर व्यवसायसँगै सामाजिक तथा परोपकारी गतिविधिमा सक्रिय छन् । एनआरएनए साउदी अरबले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा बाढी तथा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै एनआरएनए साउदीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष उमेश भट्टराईले जानकारी दिए ।
यस्तै, एनआरएनएका पूर्व उपाध्यक्ष सुनील साहको सक्रियतामा भएको छलफलमा तत्काल राहतसँगै दीर्घकालीन पुनर्निर्माण र पुनस्र्थापनामा केन्द्रित भएर सहयोग अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
विपद्का बेला विगतमा गरिएका राहत तथा सहयोगका अनुभवबाट पाठ सिक्दै सरकारको ‘एकद्वार प्रणाली’ सँग समन्वय गरेर पारदर्शी र प्रभावकारी ढंगले सहयोग गर्ने विषयमा एनआरएनका पूर्वअध्यक्ष, पदाधिकारी तथा अभियन्ताहरूले जोड दिएका हुन् ।
एनआरएनएका पूर्वउपाध्यक्ष सुनील साहको पहलमा शुक्रबार आयोजित भर्चुअल बैठकमा सहभागीहरूले तत्कालका लागि सरकारको राहत संयन्त्रलाई सहयोग गर्ने, आवश्यकताअनुसार राहत सामग्री उपलब्ध गराउने र त्यसपछि प्रभावित क्षेत्रमा विद्यालय, स्वास्थ्य चौकी, आवास तथा अन्य पूर्वाधार पुनर्निर्माणमा योगदान पु¥याउने प्रस्ताव अघि सारेका हुन् । बैठकमा राहतका नाममा रकम संकलन मात्र गर्नेभन्दा प्रवासमा रहेका नेपालीको आर्थिक स्रोतसँगै ज्ञान, सीप, प्रविधि र व्यवस्थापकीय क्षमतालाई समेत उपयोग गर्नुपर्नेमा सहभागीहरूको जोड थियो ।
साहले रसुवादेखि तल्लो क्षेत्रसम्मका विभिन्न जिल्लामा बाढीपहिरोले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले पछिल्लो दुई दशकमा भूकम्प, आगलागी, बाढीपहिरोलगायतका विपद्का बेला एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसिसी), अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) तथा व्यक्तिगत रूपमा प्रवासी नेपालीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
यसैगरी, एनसिसी अमेरिका, बेलायत लगायत, बेल्जियम, चीन, हङकङ, युएई, मलेसिया, बहराइन, रुसलगायतका देशरुले पनि राहत रकम संकलन गरिरहेका छन् ।









Facebook Comments