
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा आएको प्राकृतिक विपत्तिको समयमा सरकारलाई पार्टीको तर्फबाट पूर्ण सहयोग गर्ने बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यालय, सानेपामा आज आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा बोल्दै सभापति थापाले संकटको समयमा सरकारले नै नेतृत्व गर्नुपर्ने र कांग्रेसले त्यसलाई केन्द्रमा राखेर सहयोग गर्ने बताए ।
थापाले राहत र उद्धार कार्यमा देखिएका कमजोरी औँल्याउनु पनि पार्टीको जिम्मेवारी भएको बताउँदै भने, ‘कहाँ ग्याप छ, कहाँ काम हुन सकेको छैन भनेर औँल्याउनु आलोचना होइन, सरकारलाई सहयोग पुर्याउनु हो ।’
बैठकमा सभापति थापाले कांग्रेसका केन्द्रीय सदस्यहरू, सांसदहरू र देशभरका निर्वाचित जनप्रतिनिधिहरूलाई स्वेच्छिक रूपमा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आह्वान गरे । उनले भने, ‘पार्टीका विभिन्न समितिहरूबाट सङ्कलित रकम एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा बुझाइनेछ । ’
सभापति थापाले भोलि आफैँ बाढी–पहिरो प्रभावित क्षेत्रको भ्रमण गरी स्थलगत अवस्था बुझ्ने र थप राहतका लागि पहल गर्ने समेत बताए ।








Facebook Comments