
काठमाडौँ । भोटेकोशी बाढीपछि सम्पर्कविहीन व्यक्तिको खोजी तथा शव संकलनमा ढिलाइ भएको गुनासो बढेपछि सरकारले थप सैनिक जनशक्ति परिचालन गरेको छ। खोजी तथा उद्धार अभियानलाई तीव्रता दिन नेपाली सेनाका थप १ हजार २०० जनशक्ति नदी तटीय क्षेत्रमा खटाइएको हो।
प्रधानमन्त्री कार्यालयका अनुसार जनस्तरबाट प्राप्त गुनासोलाई गम्भीर रूपमा लिँदै विशेष टोली परिचालन गरिएको हो। थप सैनिक टोलीले रसुवादेखि चितवनसम्म नदी किनारका सम्भावित स्थानमा बाढीले बगाएर ल्याएका शवको खोजी तथा संकलन गर्नेछ।
प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार त्रिशूली र नारायणी नदी किनारका सम्भावित सबै क्षेत्रमा नेपाली सेनालाई विभिन्न टोली बनाएर परिचालन गरिएको छ। नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाबीच पनि शव खोजी तथा संकलनलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाइएको छ।
यसअघि बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र अस्थायी व्यवस्थापनका लागि नेपाली सेनाका १ हजार ६ सय जनशक्ति परिचालनमा थिए। थप १ हजार २ सय सैनिक परिचालन भएसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा नदी तटीय इलाकामा उद्धार, राहत र शव संकलनमा खटिने सेनाको कुल जनशक्ति २ हजार ८ सय पुगेको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार नदीको बहाव तीव्र रहेकाले खोजी कार्य चुनौतीपूर्ण बनेको छ। कठिन परिस्थितिका बाबजुद सैनिक टोलीले सम्भावित स्थानमा निरन्तर खोजी तथा शव संकलन गरिरहेको जनाएको छ।









Facebook Comments