काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि ९७७ जना अझै सम्पर्कविहीन छन्।

शुक्रबार अपराह्न ३ बजेसम्मको विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट सबैभन्दा धेरै शव नवलपरासी (पूर्व) र चितवनमा फेला परेका छन्। नवलपरासी (पूर्व) मा १३४ र चितवनमा १२१ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ।

ad

यस्तै, गोरखामा ४६, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी (पश्चिम) मा २७ तथा रसुवामा १२ जनाको शव फेला परेको छ। गोरखामा फेला परेका मृतकको विवरणमा मानव शरीरका विभिन्न अंगसमेत समावेश रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। बेपत्तामध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना छन्। त्यस्तै, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

जिल्लागत रूपमा रसुवाबाट १६१ र नुवाकोटबाट एक जना सम्पर्कविहीन छन्। मकवानपुरबाट पनि ६६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

बाढीपछि ५१७ जना विदेशी नागरिकको अवस्थासमेत अज्ञात रहेको छ। नेपाल भ्रमणका क्रममा रहेका विदेशमा बसोबास गर्ने १२७ जना नेपाली पनि सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।

यसैबीच, बाढीमा परी ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका तीन जना रहेका छन्।

प्राधिकरणले प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका काम जारी रहेको जनाएको छ।