काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को रिक्त कार्यकारी निर्देशक पदका लागि पाँच जनाको नाम सर्ट लिस्टमा परेको छ । सर्ट लिस्टमा परेका पाँचमध्ये चार जना पूर्वसचिव रहेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सार्वजनिक गरेको नामावलीमा पूर्वसचिवहरू गोकर्णमणि दुवाडी, डिल्लीराम शर्मा, बाबुराम अधिकारी र डा. रामप्रसाद घिमिरे परेका छन् । पाँच जनाको सूचीमा अन्जु मिश्र भने पूर्वसचिव नभएकी एक्ली उम्मेदवार हुन् ।

ad

सर्ट लिस्टमा परेका दुवाडी गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गृहसचिव थिए । आन्दोलन नियन्त्रणका क्रममा भएको घटनाबारे छानबिन गर्दा उनी अनुसन्धानको दायरामा समेत परेका थिए ।

त्यस्तै, डा. रामप्रसाद घिमिरेले अर्थसचिवका रूपमा जिम्मेवारी सम्हालिसकेका छन् भने डिल्लीराम शर्मा तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए ।

पूर्वसचिव बाबुराम अधिकारीले भने सचिवका रूपमा सङ्घीय मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएनन् । उनले बागमती र लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए । अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत केही समय काम गरेका थिए ।

कार्यकारी निर्देशक छनोटका लागि गठित समितिको भदौ ११ गते बसेको बैठकले निर्धारित मापदण्डको दफा ४ अनुसार योग्यता पुगेका पाँच जनाको आवेदन स्वीकृत गर्ने निर्णय गरेको थियो । उक्त निर्णय भदौ १२ गते सूचना जारी गर्दै सार्वजनिक गरिएको थियो ।

अब सर्ट लिस्टमा परेका उम्मेदवारमध्येबाट कार्यकारी निर्देशक चयनको प्रक्रिया अघि बढाइनेछ ।