काठमाडौं । रसुवाको भोटेकोशी नदी क्षेत्रमा पुनः लेदोसहितको बाढीको जोखिम बढेको भन्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

प्राधिकरणका उपसचिव एवं प्रवक्ता शान्ति महतद्वारा हस्ताक्षरित सुचनामा यही भदौ १० गते भीषण बाढी आएकै क्षेत्रमा पुनः लेदोसहितको पानीको बहाव केही बढेको सूचना प्राप्त भएको जनाइएको छ। माथिल्लो क्षेत्रमा लेदो बढेकाले पुनः थप बाढी आउन सक्ने जोखिम कायमै रहेको प्राधिकरणले जानकारी दिएको छ । 

ad

सूचनामा भोटेकोशी तथा त्रिशूली नदी किनारमा उद्धार र राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा विविध कारणले जोखिमपूर्ण क्षेत्रमा रहेका सर्वसाधारण सबैलाई उच्च सतर्कता अपनाउन भनिएको छ।

साथै, नदी किनार र आसपासका सम्भावित जोखिम क्षेत्रमा रहेका मानिसहरूलाई खतराको अलिकति पनि संकेत देखिएमा तुरून्त सुरक्षित स्थानतर्फ जान विशेष अनुरोध गरिएको छ।