काठमाडौं । नेपालका रसुवा, धादिङ र नुवाकोट लगायतका विभिन्न जिल्लाहरूमा गएको विनाशकारी बाढी तथा पहिरोका कारण प्रभावित भएकाहरूलाई सहयोग पुर्‍याउन बेल्जियमस्थित नेपाली व्यवसायीहरूको संस्था ‘नेपाली व्यवसायी संघ बेल्जियम’ (NEBAB) ले रु. ८ लाख (अक्षरेपी आठ लाख रुपैयाँ) आर्थिक सहयोगको घोषणा गरेको छ। संघले उक्त रकम शीघ्र नेपाल सरकारको विपद् राहत कोषमा पठाउने जनाएको छ।

प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भई सिंगो देश स्तब्ध बनेको परिस्थितिमा NEBAB ले दिवङ्गत नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएका नागरिकहरूको सकुशल खोजी र फेला पर्ने कामनासमेत व्यक्त गरेको छ।

ad

बाढी र पहिरोका कारण प्रभावित क्षेत्रका मुख्य सडक तथा पुलहरू भत्किएर यातायात र ढुवानी सेवा अवरुद्ध भएकाले विदेशबाट प्रत्यक्ष रूपमा भौतिक राहत सामग्री पठाउँदा ढिलाइ र जटिलता हुने NEBAB ले जनाएको छ। त्यसैले संकलित सम्पूर्ण रकम नेपाल सरकारको आधिकारिक संयन्त्रमार्फत नै वास्तविक पीडितहरूसम्म चाँडोभन्दा चाँडो पुर्‍याउने निर्णय गरिएको संघले स्पष्ट पारेको छ।

सहयोगको यो प्रयास सुरुवात मात्र भएको र भौतिक क्षति निकै ठूलो रहेकाले सहयोग अभियानलाई निरन्तरता दिइने NEBAB का अध्यक्ष काशी दनैले बताए । संघले बेल्जियम लगायत युरोपभर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, व्यवसायी तथा सामाजिक संघ-संस्थाहरूलाई यस राहत कोष संकलन अभियानमा सक्रिय रूपमा सहभागी हुन हार्दिक अपिल गरेको छ। सानोभन्दा सानो सहयोगले पनि बाढीपीडित परिवारका लागि ठूलो सहारा बन्ने भन्दै सहयोगको हात बढाउन संघले आग्रह गरेको छ।