काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि पत्रकार टेकराज थामीसहित नुवाकोटका पत्रकार निराजन पौडेलका परिवारका पाँच सदस्य सम्पर्कविहीन भएका छन्। नेपाल पत्रकार महासंघले उनीहरूको तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित सरकारी निकायलाई आग्रह गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ पत्रिका दैनिकका पत्रकार तथा महासंघका पूर्वकेन्द्रीय सदस्य थामी समाचार संकलनका क्रममा केरुङ हुँदै तिब्बततर्फ गएका थिए। केरुङ पुगेपछि उनी परिवार तथा सहकर्मीसँग सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको महासंघले जनाएको छ।

ad

त्यसैगरी, नुवाकोटको विदुर–७ बाट पत्रकार निराजन पौडेलका बुबा, आमा, काका, काकी र बहिनीसमेत गरी पाँचजना सम्पर्कविहीन भएको महासंघले जनाएको छ। उनीहरूको अवस्था तत्काल पत्ता लगाउन खोजी अभियान तीव्र पार्न महासंघले सम्बन्धित निकायसँग माग गरेको छ।

यसैबीच, भोटेकोशी क्षेत्रमा बाढीको जोखिम थप बढेको देखिएको छ। भू–उपग्रहबाट प्राप्त तस्बिर तथा प्रारम्भिक विश्लेषणअनुसार यसअघि बाढी आएको क्षेत्रमा नदी थुनिएर नयाँ ताल बनेको पाइएको छ। तालमा पानीको मात्रा निरन्तर बढिरहेकाले बाँध फुटेमा भोटेकोशीमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम औंल्याइएको छ।

जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म नदीको तल्लो तटीय क्षेत्र तथा नदी किनारमा नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। स्थानीय बासिन्दासँगै यात्रु, उद्धारकर्मी र सम्बन्धित निकायलाई समेत उच्च सतर्कता अपनाउन भनिएको छ।

चीनको जलस्रोत मन्त्रालयले नेपाल–चीन सीमा क्षेत्रमा नदी थुनिएर ठूलो ‘ब्यारियर लेक’ बनेको जानकारी दिएको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको थियो। केही पानी बाहिरिन थाले पनि आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरिएको छ।

पानीको मात्रा बढ्दै गए ताल फुट्ने जोखिमसमेत बढ्ने चिनियाँ पक्षको चेतावनी छ। तिब्बतबाट बगेर नेपाल प्रवेश गर्ने पुरेपु त्साङ्पो नदी भोटेकोशी–त्रिशूली नदी प्रणालीको माथिल्लो महत्वपूर्ण स्रोत हो। छोचेन खोला पनि नेपाल–चीन सीमा क्षेत्र हुँदै यही नदी प्रणालीमा मिसिने प्रमुख सहायक नदीमध्ये पर्छ।

यसअघि आएको भोटेकोशीको बाढीले रसुवालगायत क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुर्‍याइसकेको छ। पुनः बाढीको सम्भावना देखिएपछि सीमावर्ती तथा तल्लो तटीय क्षेत्रका बासिन्दामा थप त्रास बढेको छ।

बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा सञ्चार सेवा पनि प्रभावित भएको महासंघले जनाएको छ। सञ्चार सेवा यथाशीघ्र नियमित गर्न तथा सञ्चारमाध्यम सञ्चालनका लागि वैकल्पिक व्यवस्था मिलाउन महासंघले सम्बन्धित निकाय र सरोकारवालासँग आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले नदी तथा बाढीको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको जनाएको छ।