
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा अर्को आकस्मिक बाढी आउन सक्ने जोखिम बढेपछि नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका टोलीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले बिहीबार जारी गरेको विशेष सूचनाअनुसार चीनतर्फ भोटेकोशीका मुहान क्षेत्रमा दुई नदी थुनिएर बनेको ताल विस्तार हुँदै गएको छ। चीनबाट परराष्ट्र मन्त्रालयमार्फत प्राप्त सूचनाका आधारमा महाशाखाले यस्तो चेतावनी जारी गरेको हो।
भू–उपग्रहबाट प्राप्त तस्बिर र प्रारम्भिक विश्लेषणले यसअघि भदौ १० गते बाढी उत्पन्न भएको क्षेत्रमा नै नदी थुनिएर ताल बनेको देखाएको महाशाखाले जनाएको छ। तालमा पानीको मात्रा बढिरहेकाले बाँध फुटेमा भोटेकोशीमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम औंल्याइएको छ।
जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म नदीको तल्लो तटीय क्षेत्र तथा किनारबाट सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। विशेषगरी स्थानीय बासिन्दा, यात्रु, उद्धारकर्मी र सम्बन्धित निकायलाई थप सावधानी अपनाउन भनिएको छ।
चीनको जलस्रोत मन्त्रालयले पनि नेपाल–चीन सीमा क्षेत्रमा नदी थुनिएर ठूलो ‘ब्यारियर लेक’ बनेको जानकारी गराएको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो।
तालबाट केही पानी बाहिरिन थाले पनि आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरिएको छ। पानीको मात्रा बढ्दै जाँदा ताल फुट्ने जोखिम उच्च रहेको चिनियाँ पक्षले चेतावनी दिएको छ।
पुरेपु त्साङ्पो नदी तिब्बतबाट बग्दै नेपाल प्रवेश गर्ने भोटेकोशी–त्रिशूली नदी प्रणालीको महत्वपूर्ण माथिल्लो स्रोत हो। त्यस्तै, छोचेन खोला पनि नेपाल–चीन सीमा क्षेत्र हुँदै भोटेकोशी–त्रिशूली प्रणालीमा मिसिने प्रमुख सहायक नदीमध्ये एक हो।
यसअघि भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवालगायत क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुर्याइसकेको अवस्थामा पुनः बाढीको सम्भावना देखिएपछि प्रभावित क्षेत्रका नागरिकमा थप त्रास बढेको छ।
जल तथा मौसम विज्ञान विभागले नदी तथा बाढीको अवस्थाबारे निरन्तर अनुगमन गर्दै आएको छ।









Facebook Comments