काठमाडौं । प्राकृतिक विपद्का बेला जोखिमपूर्ण अवस्थामा उद्धार तथा राहतमा परिचालित हुने सुरक्षाकर्मीलाई थप सुविधा दिने तयारी भएको छ। सरकारले उनीहरूको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले विपद् व्यवस्थापनमा परिचालन हुने सुरक्षा निकायका जनशक्तिको सेवा सुविधामा पुनरवलोकन गर्ने निर्णय गरेको छ।

ad

बाढी, पहिरो, आगलागीजस्ता विपद्का घटनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका कर्मचारी अग्रपंक्तिमा खटिँदै आएका छन्। जोखिमबीच उद्धार तथा राहतमा उनीहरूले निर्वाह गर्ने भूमिकालाई प्रोत्साहित गर्न सुविधा बढाउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।

विपद् व्यवस्थापनलाई अझ प्रभावकारी, छिटो र नतिजामुखी बनाउन फिल्डमा परिचालित सुरक्षाकर्मीको मनोबल उच्च राख्न आवश्यक रहेकाले राज्यका तर्फबाट थप प्रोत्साहनको व्यवस्था गर्न लागिएको हो।

प्राधिकरणको कार्यकारी समितिले सुविधा वृद्धि गर्ने निर्णय गरे पनि नयाँ दर तत्काल लागू भने हुने छैन। सम्बन्धित सुरक्षा निकायले निर्णयअनुसार आफ्नो तालुकदार मन्त्रालयमा प्रस्ताव पठाउनुपर्नेछ। त्यसपछि सम्बन्धित मन्त्रालयले आवश्यक निर्णय गरेपछि मात्रै परिमार्जित सुविधा कार्यान्वयनमा आउनेछ।

यस व्यवस्थाले विपद्का समयमा उद्धार र राहतमा खटिने सुरक्षाकर्मीलाई थप प्रोत्साहन मिल्ने तथा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।