
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ३५९ पुगेको छ। नेपाल प्रहरीले बिहीबार साँझ ५ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट ३५९ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। जिल्लागत रूपमा चितवनबाट १३२, नवलपरासी पूर्वबाट ८२, धादिङबाट ३३, गोरखाबाट ३०, नुवाकोटबाट २८, तनहुँबाट २२, रसुवाबाट १७ र नवलपरासी पश्चिमबाट १५ जनाको शव फेला परेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहतका लागि नेपाल प्रहरीले ४ हजार ३४८ जना जनशक्ति परिचालन गरेको जनाएको छ। उद्धार अभियान जारी रहे पनि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीको विवरणमा उल्लेख छ।
यसैबीच, बाढीमा परी घाइते भएका ६३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
उपचाररत घाइतेमध्ये त्रिवि शिक्षण अस्पतालमा ३१ जना र राष्ट्रिय ट्रमा सेन्टरमा २२ जना छन्। नर्भिक र वीर अस्पतालमा २–२ जना तथा मनमोहन अस्पतालमा २ जना उपचाररत छन्।
त्यस्तै, ग्रान्डी अस्पताल, मनमैजु शुभम् अस्पताल, ग्रिन सिटी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा एक–एक जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।
बाढीपछि प्रभावित क्षेत्रमा बेपत्ता तथा क्षतिको खोजी, उद्धार र राहत वितरणको काम अझै जारी रहेको छ।









Facebook Comments