काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय  बैठकले १० बुँदे साझा संकल्प गर्दै राहत र पुनर्निर्माणमा सहकार्य गर्ने निर्णय गरेको छ । 


सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सुरु भएको बैठमा सभापति लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत सहभागी थिए । 

ad

बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्दै बेपत्ताको खोजी तथा उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने तथा बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा छलफल भएको थियो । 

बैठकले उद्धार तथा राहतमा राजनीतिक प्रतिस्पर्धा नगरी सहकार्यको भावनाबाट काम गर्ने र दलका नेता–कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने निर्णय गरेको छ। 

आर्थिक सहयोग संकलनमा एकद्वार प्रणाली लागू गर्ने सहमति भएको छ। हिमतालहरूको वैज्ञानिक अध्ययनका लागि पहल गर्ने, विपद् पूर्वसूचना प्रणाली विकास गर्न सरकारलाई सुझाव दिने निर्णय पनि भएको छ। 

बैठकले बाढीमा परेकाहरूको उद्धार, राहत र व्यवस्थापनमा जोड दिने निर्णय गरेको छ। पुनर्निर्माण राष्ट्रिय अभियान सुरू गर्नुपर्ने, अन्तर्राष्ट्रिय संस्थालाई सहयोग अपिल गर्नेसहित बैठकले १० निर्णय गरेको छ ।