
काठमाडौं । रसुवा–नुवाकोट क्षेत्रमा थप ठूलो बाढी आउन लागेको भन्दै विभिन्न फोन तथा सूचना प्राप्त भइरहेका बेला नेपाल बाढी सूचनाले त्यस्ता अपुष्ट सूचनाको पछि नलाग्न आग्रह गरेको छ।
नेपाल बाढी सूचनाका अनुसार उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने देखिए पनि हालसम्म थप ठूलो बाढी आउने कुनै विश्वसनीय सूचना प्राप्त भएको छैन।
आज बिहानको बाढीबाट प्रभावित स्थानभन्दा बाहिर सुरक्षित स्थानमा रहेका नागरिकलाई हाललाई थप ठूलो बाढी आउने सम्भावना नरहेको भन्दै अनावश्यक रूपमा नआत्तिन र संयमित रहन आग्रह गरिएको छ।
आगामी समयमा नेपालतर्फ कुनै ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी उपलब्ध सञ्चार माध्यममार्फत यथाशीघ्र आधिकारिक सूचना तथा पूर्वसूचना जारी गरिने नेपाल बाढी सूचनाले जनाएको छ।
उसले नागरिकलाई सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिने अपुष्ट सूचना र हल्लाको पछि नलागी आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार मान्न आग्रह गरेको छ।
साथै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउनसमेत नागरिकलाई अनुरोध गरिएको छ।









Facebook Comments