काठमाडौँ । रसुवामा बुधबार आएको विनाशकारी बाढीको सम्भावित कारण नेपाल–चीन सीमाक्षेत्रमा गएको हिम–चट्टान पहिरो हुनसक्ने प्रारम्भिक अध्ययनले देखाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्लानेट ल्याब्सबाट प्राप्त स्याटेलाइट तस्बिरको विश्लेषण गर्दा रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वतर्फ नेपाल–चीन सीमाक्षेत्रमा ठूलो हिम–चट्टान पहिरो गएको देखिएको जनाएको हो।

ad

प्राधिकरणका अनुसार पहिरोका कारण ल्हेन्दे खोलामा ठूलो मात्रामा गेग्य्रान मिसिएको पानी एक्कासि बगेको थियो। उक्त बाढी टिमुरे हुँदै त्रिशूली नदीमा मिसिँदा तल्लो तटीय क्षेत्रमा विनाशकारी असर परेको प्रारम्भिक निष्कर्ष छ।

पहिरोबाट खसेको हिम, चट्टान र अन्य गेग्य्रानले खोलाको बहावमा अचानक वृद्धि गराउँदा बाढीले थप तीव्रता लिएको प्राधिकरणको भनाइ छ। यसले नदी किनारका बस्ती तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

प्राधिकरणले भने स्याटेलाइट तस्बिरमा आधारित यो निष्कर्ष प्रारम्भिक रहेको जनाएको छ। बाढीको वास्तविक कारण र घटनाक्रमबारे थप प्राविधिक अध्ययन तथा स्थलगत विश्लेषण आवश्यक हुने बताइएको छ।

चीनको तिब्बततर्फबाट आएको बाढीले रसुवासहित नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले नदी तटीय क्षेत्रमा रहेका घर, सडक, पुल तथा अन्य संरचनामा क्षति पुर्‍याउनुका साथै ठूलो संख्यामा मानिसलाई सम्पर्कविहीन बनाएको छ।

सरकारी विवरणअनुसार हालसम्म १८ जनाको शव फेला परेको छ भने सयौँ मानिस अझै सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य उद्धार टोली परिचालन गरी खोजी तथा उद्धार जारी राखिएको छ।

बाढीको जोखिम अझै कायम रहेकाले भोटेकोशी र त्रिशूली नदी आसपासका बासिन्दालाई सतर्क रहन तथा सुरक्षित स्थानमा बस्न सरकारले आग्रह गरेको छ।