काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि ४७७ जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी, भन्सारका कर्मचारी तथा स्वदेशी र विदेशी पर्यटक छन्।

प्राप्त विवरणअनुसार सम्पर्कविहीनमध्ये ७९ जना सुरक्षाकर्मी, रसुवागढी भन्सारका १४ कर्मचारी र ३८४ जना पर्यटक रहेका छन्।

ad

प्रतिनिधिसभाको बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाका विभिन्न सुरक्षा पोस्टमा कार्यरत २६ जना प्रहरी र नौ जना सशस्त्र प्रहरी सम्पर्कविहीन रहेको जानकारी दिएका थिए। नेपाली सेनाका टिमुरे र मैलुङ पोस्टमा कार्यरत ४४ जनाको अवस्थासमेत अज्ञात रहेको उनले बताएका छन्।

बाढीका कारण रसुवागढी भन्सार र अध्यागमन कार्यालयमा कार्यरत केही कर्मचारी पनि सम्पर्कविहीन भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवागढी भन्सारमा कार्यरत १४ कर्मचारीसँग सम्पर्क हुन सकेको छैन।

रसुवा भन्सारमा ३६ स्थायी कर्मचारीको दरबन्दी रहेकोमा प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा रहेको जनाइएको छ।

त्यस्तै, चार करार तथा ज्यालादारी कर्मचारीमध्ये एक जना सम्पर्कमा आएका छन्। स्थायी ११ र करार तथा ज्यालादारीतर्फ तीन गरी १४ कर्मचारीको अवस्था अझै अज्ञात रहेको सचिवालयले जनाएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका ३८४ जना स्वदेशी तथा विदेशी पर्यटक पनि सम्पर्कविहीन छन्। तीमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक रहेका छन्।

बोर्डले विभिन्न ट्राभल एजेन्सी, गाइड तथा सम्बन्धित निकायसँग समन्वय गरेर सम्पर्कमा नरहेका पर्यटकको विवरण संकलन गरेको जनाएको छ। सम्पर्कविहीन विदेशीमध्ये १०५ जनाभन्दा बढी भारतीय नागरिक रहेको प्रारम्भिक विवरण छ।

बुधबार बिहान करिब साढे ८ बजे चीनको तिब्बततर्फबाट आएको आकस्मिक बाढी भोटेकोशी नदीमा प्रवेश गरेको थियो। तीव्र बहावको बाढीले रसुवासहित नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

बाढीपछि सम्पर्कविहीन भएका सुरक्षाकर्मी, कर्मचारी तथा पर्यटकको खोजी र उद्धारका लागि सरकारी तथा सुरक्षा निकाय परिचालन भएका छन्। प्रभावित क्षेत्रमा जोखिम कायमै रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।