
काठमाडौँ । तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि नेपाल–चीन सीमावर्ती क्षेत्रमा थप ठूलो बाढीको जोखिम कायमै रहेको छ। चिनियाँ पक्षका अनुसार नदी थुनिएको स्थानमा करिब ७ मिटर अग्लो पानीको अस्थायी बाँध अझै कायम रहेकाले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका नदी किनारका बस्ती, बजार, सडक तथा पुलमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण विभिन्न स्थानमा मानिसहरू फसेका छन् भने सुरक्षा निकाय र उद्धार टोलीले जोखिमबीच खोज तथा उद्धार अघि बढाइरहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिनियाँ पक्षबाट प्राप्त सूचनाका आधारमा तिब्बतमा नदी थुनिएको स्थानमा अझै करिब ७ मिटर अग्लो अस्थायी जलाशय रहेको जनाएको छ। उक्त बाँध जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
प्राधिकरणका अनुसार अस्थायी बाँध भत्किएमा भोटेकोशी हुँदै त्रिशूली नदीमा हाल आएको बाढीभन्दा ठूलो पानीको बहाव आउन सक्ने सम्भावना छ। त्यसैले अर्को सूचना जारी नभएसम्म भोटेकोशी र त्रिशूली नदीको किनारबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरिएको छ।
तीन हिमतालमध्ये एउटा फुटेको हुनसक्ने अनुमान
बाढीको सम्भावित कारणबारे प्रारम्भिक अध्ययनमा तिब्बती क्षेत्रमा रहेका हिमताल र हिमपहिरोसँग सम्बन्धित घटना हुनसक्ने देखिएको छ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार नेपाल–चीन सीमाभन्दा करिब २६ किलोमिटर उत्तरतर्फ रहेका तीन हिमतालमध्ये एउटा विस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
उनका अनुसार हिमताल विस्फोटसँगै आएको पानीले तल्लो क्षेत्रमा हिमपहिरोका कारण बनेको अस्थायी बाँधलाई समेत भत्काएको हुनसक्ने सम्भावना छ। यसरी माथिल्लो क्षेत्रबाट आएको पानी र थुनिएको नदी एकैपटक खुल्दा बाढीले थप विनाशकारी रूप लिएको हुनसक्ने उनको भनाइ छ।
यद्यपि हिमताल विस्फोट, हिमपहिरो र नदी थुनिनेलगायतका घटनाबीचको सम्बन्धबारे थप प्राविधिक अध्ययन आवश्यक रहेको बताइएको छ।
उद्धारमा पनि जोखिम
थप बाढीको सम्भावना रहेकाले प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा स्थानीयलाई समेत सावधानी अपनाउन भनिएको छ। माथिल्लो क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले उद्धार टोलीलाई सुरक्षित स्थान र मार्गको मूल्याङ्कन गरेर मात्र अघि बढ्न निर्देशन दिइएको छ।
स्थानीय प्रशासनले जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। साथै, अपुष्ट सूचना तथा हल्लाको पछि नलागी सरकारी निकाय र सुरक्षा संयन्त्रबाट जारी हुने आधिकारिक सूचनामात्र अनुसरण गर्न अनुरोध गरिएको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। सुरक्षा निकायले जोखिम कायमै रहेकाले खोज तथा उद्धारसँगै नदी तटीय क्षेत्रमा निगरानी बढाएको जनाएको छ।









Facebook Comments