काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीमा ७९ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। बाढी प्रभावित क्षेत्रमा हालसम्म नौ जनाको शव फेला परेको सरकारले जनाएको छ। फेला परेका शवको पहिचान भने हुन बाँकी छ।

प्रतिनिधिसभाको बैठकमा सरकारका तर्फबाट जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाका विभिन्न सुरक्षा पोस्टमा कार्यरत प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी ७९ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको बताए।

ad

उनका अनुसार टिमुरेसहितका प्रहरी चौकीमा कार्यरत २६ जना प्रहरी र सशस्त्र प्रहरीका नौ जना सुरक्षाकर्मीको अवस्था अज्ञात छ। यस्तै, नेपाली सेनातर्फ टिमुरे र मैलुङ पोस्टमा कार्यरत ४४ जना सुरक्षाकर्मी पनि सम्पर्कमा नरहेको उनले जानकारी दिए।

बाढीका कारण रसुवागढी भन्सार, अध्यागमन कार्यालयलगायतका सरकारी कार्यालयका केही कर्मचारीसमेत सम्पर्कविहीन रहेको मन्त्री खनालले बताए। प्रभावित क्षेत्रका केही स्थानीय बासिन्दाको अवस्था पनि अझै यकिन हुन नसकेको उनको भनाइ छ।

सरकारका अनुसार बाढी प्रभावित क्षेत्रमा अहिलेसम्म नौ जनाको शव फेला परेको छ। शवको सनाखत प्रक्रिया अघि बढ्न बाँकी छ। प्रारम्भिक विवरणमा केही नेपाली नागरिकसमेत बाढीमा परेर ज्यान गुमाएको सूचना प्राप्त भएको मन्त्री खनालले संसद्लाई जानकारी दिए।

भूकम्पपछि हिमपहिरोका कारण बाढी आएको हुनसक्ने

मन्त्री खनालका अनुसार बुधबार बिहान करिब ८ः४० बजे भोटेकोशी नदीमा ठूलो बाढी आएको थियो। त्यसअघि बिहान ८ः३७ बजे भूकम्प गएको र त्यसबाट हिमपहिरो खसेपछि नदीमा आकस्मिक बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको छ।

यद्यपि भूकम्प, हिमपहिरो र बाढीबीचको सम्बन्धबारे थप अध्ययन तथा प्रमाणीकरण आवश्यक रहेको उनले बताए।

बाढीले रसुवा र नुवाकोटका टिमुरे, स्याब्रुवेशी, भित्रावती, त्रिशूली, बटार र देवीघाटलगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण सरकारले प्राप्त गरेको छ।

सडकदेखि जलविद्युत् आयोजनासम्म क्षति

बाढीबाट सडक, पुल, जलविद्युत् आयोजना, सञ्चार संरचना तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक आकलन गरिएको छ। सरकारी तथा निजी भवन र सम्पत्तिमा समेत क्षति पुगेको मन्त्री खनालले बताए।

भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा थप जोखिम देखिएपछि रसुवा, धादिङ, गोरखा र चितवनका नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।

सम्भावित जोखिमबारे नागरिकलाई सचेत गराउन एसएमएस, माइकिङ, रिङटोन, ब्याकअप टोन तथा सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गरिएको मन्त्री खनालले जानकारी दिए।

खोज तथा उद्धारमा सरकारी संयन्त्र परिचालन

बाढीपछि प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आकस्मिक बैठक बसेको सरकारले जनाएको छ। बैठकले प्रभावितको खोजी तथा उद्धार, राहत वितरण र सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राखेर आवश्यक संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ।

यस्तै, मनसुन कमाण्ड पोस्टको आकस्मिक बैठकमार्फत घटनाको अवस्था, खोज तथा उद्धार, सुरक्षा, स्वास्थ्य सेवा तथा राहत परिचालनबारे निरन्तर समन्वय भइरहेको मन्त्री खनालले बताए।

सरकारले सबै उपलब्ध संयन्त्र परिचालन गरेर सम्पर्कविहीन नागरिक तथा सुरक्षाकर्मीको खोजी तीव्र पारिएको जनाएको छ।