
काठमाडौं । प्रधानमन्त्री बालेन शाह कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य परीक्षणसहितको पत्र संसद सचिवालयमा पुगेको छ ।
प्रधानमन्त्री शाह भोलि बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा उपस्थित भएर सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने छन् ।
सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक र सचेतकहरूमार्फत् सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा उपस्थित नहुन आग्रह गर्दै कालो चस्मा लगाउनुपर्ने अवस्था रहे स्वास्थ्य परीक्षण रिपोर्टसहित कारण खुलाउन आग्रह गरेका थिए । प्रधानमन्त्रीले कालो चस्मा लगाउनैपर्नाका कारण खुलाएर संघीय संसद सचिवालयलाई पत्र नै लेखेका छन्।
उज्यालोमा हेर्न असहज भएको भन्दै प्रधानमन्त्रीले नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा साउन २२ गते आँखा परीक्षण गराएका थिए। लेफ्टिनेट कर्णेल डा. सचित ढकालले प्रधानमन्त्री शाहको आँखा परीक्षण गरेका थिए।
आँखा परीक्षण रिपोर्टअनुसार प्रधानमन्त्री शाहलाई उज्यालोमा हेर्न कठिन हुन्छ भने आँखा सुक्खा हुने भएकोले बेलाबेला आइड्रपको प्रयोग गरिराख्नुपर्ने उल्लेख छ।
त्यसकारण प्रधानमन्त्रीले कालो चस्मा लगाउनुपर्ने अवस्था रहेको भन्दै साउन २६ गते संसद सचिवालयलाई पत्र पठाएरै जानकारी गराइएको हो।









Facebook Comments