काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंको घरमा खानतलासीका क्रममा बरामद गरिएका सामानसहित उपस्थित हुन जिल्ला प्रहरी परिसर भक्तपुरलाई आदेश दिएको छ।

प्रसाईंकी पत्नी उमाले दायर गरेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले यस्तो आदेश दिएको हो।

ad

इजलासले प्रसाईंको घरमा खानतलासी गरी उनलाई पक्राउ वा धरपकड गर्नुको कारणसमेत खुलाउन प्रहरीलाई आदेश दिएको छ। अदालतले निवेदकको मागबमोजिम आदेश किन जारी गर्न नपर्ने हो भन्ने आधार र कारणसहित लिखित जवाफ पेस गर्न विपक्षीलाई भनेको छ।

अदालतको आदेशमा प्रसाईंको घरमा खानतलासी गर्दा बरामद भएको भनी उल्लेख गरिएका सामानसमेत लिएर उपस्थित हुन जिल्ला प्रहरी परिसर भक्तपुरलाई भनिएको छ। आदेशमा निवेदकले माग गरेका विषयमा आवश्यक जवाफसहित तोकिएको अवधिभित्र अदालतमा उपस्थित हुन भनिएको छ।

प्रसाईंकी पत्नी उमाले आफ्ना श्रीमान्लाई गैरकानुनी रूपमा नियन्त्रणमा लिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन्। उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले प्रहरीसँग प्रसाईंलाई पक्राउ गर्नुको आधार र कारण माग गरेको हो।

अदालतले यसअघि पनि प्रसाईंलाई अभिव्यक्ति दिएकै आधारमा धरपकड नगर्न आदेश दिएको थियो। पछिल्लो पटक उनको घरमा खानतलासी गरी विद्युतीय तथा अन्य सामग्री बरामद गरिएको विषयसमेत रिट निवेदनमा उठाइएको छ।

सर्वोच्चको पछिल्लो आदेशपछि प्रसाईंको घरबाट बरामद सामानको विवरण तथा उनलाई नियन्त्रणमा लिनुको कानुनी आधारबारे प्रहरीले अदालतमा जवाफ दिनुपर्ने भएको छ।