
काठमाडौं । उच्च अदालत पाटनले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अच्युत कुइँकेलको इजलासले बुधबार श्रेष्ठको पक्षमा उक्त आदेश दिएको हो।
अदालतले श्रेष्ठविरुद्धको निवेदनको अन्तिम टुंगो नलागेसम्म उनलाई धरपकड गर्ने, पक्राउ गर्ने वा थुनामा राख्नेलगायतका कुनै पनि कार्य नगर्न सम्बन्धित विपक्षीका नाममा आदेश जारी गरेको छ।
गत साउन २७ गते जनआस्थामा उपसभामुख रूबिकुमारी ठाकुरसँग सम्बन्धित समाचार प्रकाशित भएको थियो। उक्त समाचारलाई लिएर श्रेष्ठविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको थियो।
समाचारसम्बन्धी विवादको प्रक्रिया प्रेस काउन्सिल नेपालमार्फत अघि बढिरहेको अवस्थालाई समेत अदालतले आदेशका क्रममा आधार बनाएको छ।
उच्च अदालतले यसअघि सर्वोच्च अदालतबाट जारी भएको परमादेशलाई समेत आधार मानेर श्रेष्ठलाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो।
अदालतको आदेशमा निवेदनको अन्तिम टुंगो नलागेसम्म श्रेष्ठमाथि धरपकड, पक्राउ वा थुनामा राख्नेजस्ता कार्य नगर्न भनिएको छ।
अब श्रेष्ठविरुद्धको निवेदनमा थप सुनुवाइ हुने र त्यसपछि अदालतले विवादको अन्तिम निरूपण गर्नेछ।









Facebook Comments