काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच सहमति भएसँगै व्यवसायीले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको छ ।


वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियालाई यथाशक्य छिटो टुङ्ग्याउन सरकार र व्यवसायी दुवै पक्षले अधिकतम प्रयत्न गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगन भएको हो । गत साउन २२ गते १५ बुँदे माग राखीसुरु गरेको आन्दोलन अन्तर्गत सङ्घले आजदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको थियो । 

ad

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको उपस्थितिमा सरकार र व्यवसायीबीच भएको छलफलपछि आन्दोलनका कार्यक्रम स्थगन भएको सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले जानकारी दिए । अध्यक्ष खत्रीका अनुसार व्यवसायीका माग सम्बोधन गर्न केही समय लाग्ने भएकाले हालका लागि आन्दोलन स्थगन गरिएको हो ।

छलफलका क्रममा सङ्घले राखेका १५ बुँदे मागमध्ये अधिकांश नीतिगत सम्बोधनका विषय भएकाले त्यसलाई वैदेशिक रोजगार ऐन तथानियमावली संशोधनको प्रक्रियामा समावेश गरिने उनले बताए । 

यस्तै, व्यवसायीका अन्य मागका सन्दर्भमा आवश्यक प्रमाण र कागजातसहित वैदेशिक रोजगार विभागमा अनुरोध भएको खण्डमा विभागले  सहजीकरण गर्ने तथा त्यहाबाट  समस्या नसुल्झिए  मन्त्रालयमा मार्फत सम्बोधन हुने जानकारी दिइएको छ ।