
काठमाडौँ । नेकपा एमालेले देशका विभिन्न स्थानमा बाढी पहिरोबाट बेपत्ताको खोजी, पीडितलाई राहत तथा उद्धार र अवरुद्ध सडक सञ्चालन कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
एमाले प्रचार तथा प्रकाशन विभागले जारी गरेको विज्ञप्तिमा जाजरकोट, रोल्पा, बाजुरा, कास्की लगायत विभिन्न जिल्लामा बाढी, पहिरो तथा सडक अवरोधका कारण ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै सडक अवरुद्ध हुँदा सर्वसाधारणको आवागमनमा समेत कठिनाइ सिर्जना भएको जनाएको छ।
जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन्। पहिरोमा परी घाइते भएका ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ। बेपत्तामध्ये ५४ वर्षीया उमासिंह खत्री, ७० वर्षीय भीमबहादुर कार्की, ८३ वर्षीया रति खत्रीको शव फेला परेको तथा १४ वर्षीय हरिस विक अझै बेपत्ता रहेको एमालेले जनाएको छ। घटनामा सात जना घाइते भएका छन् भने आठ घरमा क्षति पुगेको छ।
त्यस्तै, रोल्पामा गएको साता भीषण पहिरोबाट १७ जनाको दुःखद निधन भएको र पछिल्लो समय सुनछहरी गाउँपालिका–२, फलामडाँडामा बिहीबार राति पहिरोले घर पुर्दा तीन जना बेपत्ता भएको एमालेले जनाएको छ।
कास्कीको पोखरा महानगरपालिका–१४ स्थित विजयबस्तीबाट विजयपुर खोला हुँदै पोखरा–२६ मझेरीपाटनतर्फ जाने क्रममा भावती हाइड्रोपावर नजिक खोलाले बगाउँदा १४ वर्षीय निक्सन गुरुङ र १५ वर्षीय ओमन राई बेपत्ता भएको विज्ञप्तिमा उल्लेख छ।









Facebook Comments