
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सुझाव संकलन गरेर तयार गरिएको प्रस्तावलाई निर्णयार्थ हलमा प्रस्तुत गर्दा नेताहरुबीच विवाद देखिएको छ ।
भेलाले अनुमोदन गरेका निर्णयका केही शब्दहरुलाई लिएर नेताहरुबीच विवाद देखिएको हो । भेलाको निर्णयमा १४ औं महाधिवेशनबाट बनेको निर्वाचित पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ भन्ने निर्णय अनुमोदन भएपछि तत्काल बिमलेन्द्र निधि जनाउँदा प्रकाशशरण महतले निधिलाई हात समातेर बस्ने ठाउँतर्फ लगेको दृश्य देखिएको थियो । निर्णय सुनाउँदै गर्दा महत र निधिबीच नोेकझोंक चलिरहेको देखिन्थ्यो ।
सम्मेलनले १४ औँ महाधिवेशनवाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औँ महाधिवेशन सम्पन्न गर्ने र त्यसको सभापतित्व शेरबहादुर देउवाले गर्ने निर्णय गरेको छ ।
इतर समूहको भेलाले १५ औँ महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजक शशांक कोइरालाले नै संयोजन गर्ने निर्णय गरेको छ ।
सम्मेलनले २०३३ सालमा बीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राखेर राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखि स्वदेश फर्केको स्मरण गर्दै आज पनि देश अप्ठेरो स्थितिमा रहेकोले राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरणका लागि क्रियायाशील रहने निर्णय गरेको छ ।
धर्मबारे निर्णयको ३ नम्बर बुँदामा भेलाले गरेको निर्णयमा भनिएको छ– नेपालको सनातनदेखि चलिआएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दु, बौद्ध, किराँत र प्राकृतिक धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिको पहिचान रूपमा अघि बढाउने प्रतिबद्धता गर्नेछ ।









Facebook Comments