काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारकर्मीको गिरफ्तारी तथा सञ्चारमाध्यममाथि भएको हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गर्दै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ।

जनआस्थाका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीको विरोधमा बिहीबार आयोजित कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला शर्माले सरकार संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत अघि बढेको आरोप लगाउँदै प्रधानमन्त्री र गृहमन्त्रीले पदमा रहने नैतिक आधार गुमाएको दाबी गरिन्।

ad

अध्यक्ष शर्माले श्रेष्ठलाई बिना शर्त रिहा गर्न तथा जफत गरिएका सञ्चार सामग्री तत्काल फिर्ता गर्न माग गरिन्। सञ्चारमाध्यम र पत्रकारमाथिको हस्तक्षेप नरोके देशव्यापी आन्दोलनमा जान बाध्य हुने उनको चेतावनी छ।

शर्माले समाचारको स्रोतको गोपनीयता संरक्षण गर्नु प्रेस स्वतन्त्रताको आधारभूत मान्यता भएको बताइन्। उनका अनुसार समाचारप्रति सरकार वा सम्बन्धित पक्षलाई आपत्ति भए कानुनी रूपमा प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न सकिने व्यवस्था हुँदाहुँदै प्रहरी प्रशासनको प्रयोग गरेर सञ्चारगृहमाथि हस्तक्षेप गर्नु आपत्तिजनक छ।

जनआस्थाको कार्यालयमा पुगेर कम्प्युटर, सीपीयू लगायत सञ्चार सामग्री नियन्त्रणमा लिई समाचारको स्रोत पत्ता लगाउने प्रयास गरिएको भन्दै उनले त्यसको विरोध गरिन्। यस्तो कदमले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको गम्भीर उल्लंघन हुने उनको भनाइ छ।

महासंघले घटनाविरुद्ध कानुनी तथा सडक संघर्ष दुवैलाई निरन्तरता दिने जनाएको छ। सञ्चारकर्मी तथा सञ्चारगृहमाथिको हस्तक्षेप तत्काल अन्त्य नभए आन्दोलनलाई देशव्यापी बनाउने चेतावनीसमेत महासंघले दिएको छ।