जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठको गिरफ्तारी र मिडिया हाउसभित्रै प्रहरी पसेर गरिएको खानतलासीले राज्य प्रशासन र पत्रकारिता जगतबीचको टकरावलाई एकाएक चुल्याइदिएको छ। वैयक्तिक गोपनीयताको कसुर देखाउँदै प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएलगत्तै नेपाल पत्रकार महासंघ र सञ्चारकर्मीहरू सरकारविरुद्ध कडा आन्दोलनमा उत्रिएका छन्।

घटनाक्रमले उग्र रूप लिएपछि महासंघले आजै काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिने घोषणा गर्दै प्रेस स्वतन्त्रता पक्षधर सम्पूर्ण नागरिक तथा संघ-संस्थालाई सडकमा आउन आह्वान गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा श्रेष्ठको विनाशर्त रिहाइ र मिडियामाथिको प्रहरी हस्तक्षेप अन्त्य नभए देशव्यापी आन्दोलन आँधीबेहरीका रूपमा अघि बढाउने चेतावनी दिइएको छ।

हिजो राति नै महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पत्रकारहरूको टोलीले काठमाडौं प्रहरी परिसर घेराउ गरिसकेको छ। प्रहरीले श्रेष्ठमाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ अनुसार अनुसन्धान भइरहेको दाबी गरे पनि आज बिहानै जनआस्थाको कार्यालयमा पुगेर गरिएको प्रहरी खानतलासीलाई महासंघले स्वतन्त्र पत्रकारितामाथि भय सिर्जना गर्ने राज्यको नियोजित कदमका रूपमा व्याख्या गरेको छ।

ad