काठमाडौं । भक्तपुरको सूर्यविनायकस्थित एक सुधार गृहमा युवकको मृत्यु भएपछि त्यहाँ रहेका अन्य व्यक्तिहरूले कुटपिटबाट मृत्यु भएको आरोप लगाएसँगै अवस्था तनावपूर्ण बनेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा राखिएका एक युवकको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।

ad

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार बिहान करिब ४ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

तर सुधार गृहमा रहेका अन्य व्यक्तिहरूले भने युवकको कुटपिटबाट मृत्यु भएको आरोप लगाएका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै उनीहरूले सुधार गृहभित्रै नाराबाजी गरेका छन्।

घटनापछि सुधार गृहको अवस्था तनावपूर्ण बनेकाले प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

युवकको मृत्यु स्वाभाविक कारणले भएको हो वा कुटपिटबाट भन्ने विषय अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।