कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत अवस्थामा फेला परेका छन्। शुक्रबारदेखि सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव आइतबार जंगल क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सिंहले प्रयोग गर्ने मोटरसाइकल शनिबार नै फेला परेको थियो। त्यसपछि प्रहरीले आफन्त तथा अन्य व्यक्तिको सहयोगमा उनको खोजीलाई निरन्तरता दिएको थियो। खोजीका क्रममा आइतबार मोटरसाइकल रोकिएको स्थान नजिकै सिंहको शव भेटिएको हो।

ad

कपिलवस्तु–३ स्थित आफ्नै घरबाट सिंह शुक्रबार दिउँसो करिब २ बजे निस्किएका थिए। त्यसपछि उनी चेतदराईस्थित सनसाइन सामाजिक विकास केन्द्रको सीसीटीभीमा दिउँसो ३ बजेर २७ मिनेटतिर रामराज पुलतर्फ गएको देखिएको प्रहरीले जनाएको छ।

त्यसपछि सिंहले आफू जंगलमा बाटो बिराएको भन्दै आफू निकटका व्यक्तिलाई मोबाइलमार्फत जानकारी गराएका थिए। सोही सूचनाका आधारमा आफन्तसहितको टोलीले उनको खोजी थालेको थियो।

खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा सिंहले प्रयोग गर्ने लु.प्र. ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल भेटिएको थियो।

मोटरसाइकल भेटिएपछि पनि सिंहको अवस्था पत्ता नलागेपछि प्रहरीसहितको टोलीले खोजी जारी राखेको थियो। अन्ततः आइतबार मोटरसाइकल नजिकै उनको शव फेला परेको प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिए।

सिंहको मृत्युको कारण भने खुलिसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।