काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकै सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएका पराजुली दम्पतीको खोजी कार्य जारी रहेको छ।

मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली बुधबार साँझ करिब साढे ६ बजे सुनकोशी नदीमा हाम फालेपछि बेपत्ता भएका थिए।

ad

उनीहरूको खोजीका लागि काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू समेत घटनास्थलमा खटिएका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको टोलीले लगातार खोजी गरिरहेको प्रहरीले जनाएको छ।

खोजीका क्रममा सशस्त्र प्रहरीले र्‍यापिड बोट र ड्रोन क्यामेराको प्रयोग गरिरहेको छ। नदीको बहाव र भौगोलिक अवस्थाका कारण खोजी कार्य चुनौतीपूर्ण बने पनि विभिन्न माध्यमबाट प्रयास जारी राखिएको सुरक्षा निकायले जनाएको छ।

घटनापछि पराजुली दम्पतीको अवस्थाबारे तत्काल कुनै जानकारी प्राप्त हुन सकेको छैन। उनीहरू नदीमा हाम फाल्नुको कारणबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ।

सुरक्षा निकायका अनुसार थप जनशक्ति परिचालन गरी सुनकोशी नदी आसपासका क्षेत्रमा खोजीलाई तीव्र बनाइएको छ।