
काठमाडौं । नेपालमा बसोबास गर्ने रोहिंग्या शरणार्थीको संख्या ५२६ पुगेको नेपाल प्रहरीले जनाएको छ। पछिल्ला वर्षहरूमा म्यानमारबाट विस्थापित भई बङ्गलादेश हुँदै नेपाल आइपुगेका रोहिंग्याको संख्या क्रमशः बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले हाल नेपालका विभिन्न स्थानमा ५२६ जना रोहिंग्या शरणार्थी रहेको जानकारी दिए। उनका अनुसार तीमध्ये १६२ जना पुरुष रहेका छन् भने बाँकी महिला र बालबालिका छन्।
प्रहरीका अनुसार अधिकांश रोहिंग्या काठमाडौंको कपनस्थित लसुनटार क्षेत्रमा तथा ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गरिरहेका छन्। कपनस्थित राम मन्दिर आसपासको क्षेत्रमा पनि रोहिंग्याहरूको बसोबास रहेको प्रहरीले जनाएको छ।
म्यानमारमा भएको हिंसा र उत्पीडनपछि विस्थापित भएका रोहिंग्या मुस्लिम समुदायका नागरिकहरू बङ्गलादेशका शरणार्थी शिविर हुँदै विभिन्न मार्ग प्रयोग गरेर नेपाल आइपुगेका हुन्। उनीहरूमध्ये धेरैजना लामो समयदेखि काठमाडौं उपत्यकामा अस्थायी रूपमा बस्दै आएका छन्।
प्रहरीले रोहिंग्या शरणार्थीको अवस्था, बसोबास र गतिविधिमाथि सम्बन्धित निकायसँग समन्वय गरी नियमित निगरानी भइरहेको जनाएको छ।









Facebook Comments