काठमाडौं– लगातारको वर्षासँगै आज (साउन २१) देशका २९ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले ती जिल्लाका साना तथा मझौला नदीमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलालीलगायत जिल्लाबाट बग्ने नदी तथा खोलामा बहाव बढ्ने सम्भावना रहेको छ।

ad

यस्तै, अरुण, नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीजस्ता प्रमुख नदीहरूमा पनि पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी, यात्रु र सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन तथा मौसम र बाढीसम्बन्धी सूचनालाई निरन्तर निगरानी गर्न आग्रह गरेको छ।