रौतहट । रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक महेन्द्र राजमार्गमा आज बिहान पेट्रोल बोकेको एक ट्यांकर दुर्घटना भई आगलागी भएको छ । 

बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्यांकर बिहान अन्दाजी ५ः३० बजे दुर्घटनामा परेको हो ।

ad

सडकमा अचानक निस्किएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई ट्यांकर सडकको दाहिनेतर्फ पल्टिएको थियो । पल्टिएलगत्तै ट्यांकरमा अचानक भीषण आगलागी भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) सत्य नारायण थापाको कमाण्डमा १० जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजेन्द्र थापा मगरको कमाण्डमा ५ जना गरी कुल १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाबाट आएका दमकलहरूको सहयोगमा बिहान ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले स्पष्ट पारेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेका ट्यांकर चालक बाराको सिमरा उपमहानगरपालिका–११ बस्ने २५ वर्षीय समिर गुरुङलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

अहिले राजमार्गमा यातायात आवगमन पूर्ण रूपमा सुचारु भइसकेको छ । घटनास्थल चन्द्रनिगाहपुर बजारबाट करिब १३ किलोमिटर पश्चिममा पर्दछ ।