विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित कर छुट प्रकरणमा पर्यटन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपानेलाई ४ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू उमेश कोइराला र बिदुर कोइरालाको इजलासले न्यौपानेसँग उक्त रकम धरौटी माग गर्ने आदेश दिएको हो। अदालतले अन्य प्रतिवादीहरूको हकमा पनि कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाएको छ।

ad

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा संलग्न चिनियाँ कम्पनी सीएएमसी, उसका सञ्चालक तथा केही सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारको दाबीअनुसार ठेक्का सम्झौतामा उल्लेख नभएको अवस्थामा ठेकेदार कम्पनीलाई राजस्व छुट प्रदान गरिएको थियो, जसबाट राज्यलाई ठूलो आर्थिक नोक्सानी पुगेको आरोप लगाइएको छ।

उक्त मुद्दामा अख्तियारले प्रतिवादीहरूसँग कुल ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो असुल गर्न मागदाबी गरेको छ। मुद्दामाथिको सुनुवाइ विशेष अदालतमा जारी छ।