बर्दिया । मोटरसाइकल दुर्घटनापछि आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल बर्दियाको ठाकुरबाबा नगरपालिका–७ कालीगौडीमा बस्दै आएका २० वर्षीय गोविन्द जैसी रहेका छन्।

ad

प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक जैसी घाइते भएका थिए भने पछाडि सवार ठाकुरबाबा नगरपालिका–९ बेथहनी गाउँका २७ वर्षीय आसाराम थारु त्यसयता सम्पर्कविहीन भएका थिए।

घटनाबारे अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा थारुको शव फेला पारेको जनाएको छ।

अनुसन्धानका आधारमा प्रहरीले दुर्घटनापछि थारुको हत्या गरेको आरोपमा मोटरसाइकल चालक जैसीलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।