
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–५ हान्जाबाङ क्षेत्रमा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गंगादेव गाउँपालिका–१ भुर्तिबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट करिब १५ मिटर तल खोल्सामा खसेपछि दुर्घटना भएको हो। जीप गंगादेव गाउँपालिका–१ का करिब २२ वर्षीय चालक दिलकुमार वलीले चलाइरहेका थिए।
दुर्घटनाका बेला जीपमा चालकसहित १० जना सवार रहेको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी जुगार स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि सबै घाइतेलाई दाङस्थित राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।









Facebook Comments