
काठमाडौं । उपभोक्ता मञ्च नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना भएको जनाउँदै ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, सञ्चितीकरण गर्ने र बढी मूल्यमा बिक्री गर्ने बिचौलिया तथा व्यापारीमाथि कडा कारबाही गरी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
मञ्चका प्रवक्ता उज्वलराज गौतमले प्रेस विज्ञप्ति जारी गरी भारतबाट ग्यास आयात तथा ढुवानी तथा आपूर्ति सहज ढंगबाट भइराख्दा पनि खाना पकाउने ग्यासको सहज उपलब्धता ठप्प हुनु र सर्वसाधारण नागरिकहरू घण्टौँ लाइनमा बस्न बाध्य हुनुले बजारमा ग्यासको कृत्रिम अभाव र कालाबजारी मौलाएको स्पष्ट पार्ने जनाएका छन् ।
यससँगै चाडपर्व नजिकिँदै गर्दा तथा विपद्का बेला बजारमा चरम महंगी र अभाव सिर्जना हुनु, नियमनकारी सरकारी निकायहरू मूकदर्शक बन्नु अत्यन्तै दुःखद र गैरजिम्मेवारपूर्ण विषय भएको मञ्चले जनाएको छ।
‘केही समययता बजारमा चामल, दाल, तेल, चिनी, तरकारी, फलफूल, खसी तथा कुखुराको मासु र अण्डा जस्ता दैनिक उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक र अनुचित ढङ्गले बढाइएको छ, विज्ञप्तिमा भनिएको छ, ‘व्यवसायीहरूले वर्षात् तथा ढुवानीको बहाना बनाएर मूल्य बढाए पनि त्यसको कुनै ठोस र औचित्यपूर्ण आधार देखिँदैन।’
बजारमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि, नाफाखोरी र कालोबजारी नियन्त्रण गर्न तत्काल संयुक्त र प्रभावकारी अनुगमन टोली परिचालन मञ्चले माग गरेको छ। ‘बिना कुनै ठोस आधार र औचित्य चामल, दाल, तेल, चिनी, तरकारी लगायतका खाद्य वस्तुमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गराइयोस्,’ विज्ञप्तिमा उल्लेख छ ।








Facebook Comments