
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले साउन २९ मा आयोजना गर्न लागिएको भनिएको कांग्रेस इतर समूहको राष्ट्रिय भेलाको ५५१ सदस्यीय मूल आयोजक समितिमा आफ्नो नाम बिनासहमति राखिएकोप्रति गम्भीर आपत्ति जनाउँदै उक्त भेलासँग आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
उनले आज एक अपिल जारी गरि पार्टीको वैधानिक संरचनालाई कमजोर बनाउने तथा विभाजनकारी गतिविधिमा आफू सहभागी नहुने स्पष्ट पारेका छन् ।
अपिलमा उनले पार्टीभित्र असन्तुष्टि हुन सक्ने तर त्यसको समाधान विधान, विधि र संगठनात्मक प्रक्रियाभित्रै खोजिनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको वैधानिक नेतृत्व र संस्थागत संरचनाको विकल्प कुनै पनि समानान्तर वा अवैधानिक भेला हुन नसक्ने उनको भनाई छ ।
चम्लागाईंले नेतृत्व परिवर्तनको लोकतान्त्रिक बाटो महाधिवेशन नै भएको उल्लेख गर्दै असन्तुष्ट नेताहरूलाई १५औँ महाधिवेशनमा नेतृत्वको परीक्षामा उत्रिन आग्रह गरेका छन् । उनले समानान्तर गतिविधि, भ्रम सिर्जना गर्ने प्रयास र विभाजनको राजनीति त्यागेर खुला लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी हुन आह्वान गरेका छन् ।








Facebook Comments