काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक, शैक्षिक तथा अनुसन्धानात्मक क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

दुवै संस्थाले क्यान्सर उपचार तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि संयुक्त ट्युमर बोर्डमार्फत बहुविषयगत छलफल (मल्टिडिसिप्लिनरी डिस्कसन) सञ्चालन गर्ने, इम्युनोहिस्टोकेमिस्ट्री (आईएचसी) सेवामा सहकार्य गर्ने, इन्डोस्कोपिक रेट्रोग्रेड कोलान्जियोप्यान्क्रियाटोग्राफी (इआरसिपी) सम्बन्धी सेवा तथा दक्षता अभिवृद्धिमा सहयोग गर्ने र प्यालियाटिभ केयर सेवाको विकास तथा विस्तारमा संयुक्त रूपमा काम गर्ने सहमति भएको भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिए ।

ad

उनका अनुसार दुवै संस्थाबीच अनुसन्धान, स्वास्थ्यकर्मी क्षमता विकास, तालिम, शैक्षिक कार्यक्रम, ज्ञान तथा अनुभव आदानप्रदान, संयुक्त अध्ययन तथा अन्य प्राविधिक गतिविधिहरूमा समेत सहकार्य गर्ने सहमति भएको छ ।

यस सहकार्यले विशेषज्ञता आदानप्रदान, अनुसन्धानको प्रवद्र्धन, स्वास्थ्यकर्मीको क्षमता विकास तथा क्यान्सर बिरामीलाई थप गुणस्तरीय, समन्वित र आधुनिक सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको पनि डा. चालिसेले बताए ।