
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभामा उपस्थित भएर समसामयिक राष्ट्रिय विषयमा सम्बोधन गर्न आग्रह गरेका छन्। प्रधानमन्त्रीसँग भएको भेटवार्ताका क्रममा सभामुखले संसदप्रति सरकारको जवाफदेहिता बलियो बनाउन सदनमा उपस्थित भई धारणा राख्न अनुरोध गरेका हुन्।
भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख अर्यालले प्रधानमन्त्रीलाई संसदमा सम्बोधन गर्न आग्रह गरिएको र प्रधानमन्त्रीले त्यसबारे विचार गर्ने जवाफ दिएको जानकारी दिए। उनले भेटका अन्य विषयबारे भने खुलाउन चाहेनन्।
प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेयता प्रतिनिधिसभामा औपचारिक सम्बोधन गरेका छैनन्। जेठ १७ गते आकस्मिक रूपमा संसदको रोस्ट्रममा उभिएर सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध जनाउँदै आएका छन्।
विपक्षी दलहरूको माग छ कि उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्छ र प्रधानमन्त्रीले सदनमा उपस्थित भएर स्पष्टिकरण दिनुपर्छ। यही विषयलाई लिएर प्रतिनिधिसभाको बैठकमा विपक्षी सांसदहरूले नियमित रूपमा विरोध जनाउँदै आएका छन्।
सभामुख अर्यालले पटक–पटक विपक्षी दलहरूलाई अवरोध अन्त्य गर्न आग्रह गरे पनि उनीहरूले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर जवाफ नदिएसम्म आफ्नो अडान कायम रहने बताएका छन्।
यसअघि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले पनि प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउने प्रयास गर्ने बताएका थिए। तर त्यसपछि पनि प्रधानमन्त्री सदनमा उपस्थित नभएपछि विपक्षी दलहरूले सभामुखसँग प्रत्यक्ष पहल गर्न आग्रह गरेका थिए।
प्रधानमन्त्री शाहमाथि संसदसँग पर्याप्त संवाद नगरेको आरोप पनि लाग्दै आएको छ। उनी राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बीचमै बैठक छाडेर बाहिरिएका थिए भने त्यससम्बन्धी छलफलमा जवाफ दिने जिम्मेवारी अर्थमन्त्रीलाई दिएका थिए। प्रतिनिधिसभा नियमावलीअनुसार हुने ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा पनि उनले नियमित सहभागिता जनाएका छैनन्।
संसद सचिवालयको तथ्यांकअनुसार प्रतिनिधिसभाको हालसम्म बसेका ४१ बैठकमध्ये प्रधानमन्त्री शाह केवल ६ दिन मात्र उपस्थित भएका छन्। यही कारण संसदसँग कार्यपालिका प्रमुखको संवाद र जवाफदेहिताको विषय पुनः राजनीतिक बहसको केन्द्रमा आएको छ।









Facebook Comments