काठमाडौं । मतदाता नामावलीलाई थप शुद्ध, विश्वसनीय र व्यवस्थित बनाउने उद्देश्यले निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच विवरण आदानप्रदान गर्ने समझदारी भएको छ।

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक र प्रमाणीकरण गर्ने विषयमा बिहीबार दुई निकायबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

ad

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समझदारीपत्रमा आयोगका तर्फबाट सहसचिव राजेन्द्रकुमार केसी र पञ्जीकरण विभागका महानिर्देशक कृष्ण पौडेलले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार पञ्जीकरण विभागले आफ्नो सूचना प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण सुरक्षित प्राविधिक माध्यमबाट निर्वाचन आयोगलाई उपलब्ध गराउनेछ। आयोगले ती विवरणलाई मतदाता नामावली अद्यावधिक गर्न तथा मतदाताको विवरण प्रमाणीकरण गर्न प्रयोग गर्नेछ।

दुई निकायबीच तथ्यांक आदानप्रदान गर्दा सुरक्षा र गोपनीयता कायम गर्ने व्यवस्था मिलाइनेछ। यसका लागि आवश्यक प्राविधिक प्रणाली विकास गर्नुका साथै कार्यान्वयनका क्रममा देखिने प्राविधिक समस्याको समाधान गर्न दुवै निकायका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक कार्यसमूह गठन गरिने प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।

आयोगका अनुसार यस सहकार्यले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीमा रहेका विवरणको उपयोगलाई प्रभावकारी बनाउँदै मतदाता नामावली अद्यावधिक र प्रमाणीकरण प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ।

त्यस्तै, मतदाता नामावलीमा रहेका विवरणको शुद्धता कायम गर्न र निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग विस्तार गर्न पनि यस समझदारीले सहयोग पुर्‍याउने आयोगको विश्वास छ।

समझदारी कार्यान्वयनसँगै दुई निकायबीच तथ्यांकको व्यवस्थित उपयोग र प्राविधिक समन्वयमार्फत मतदाता नामावली व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।