काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आगामी चार वर्षको कार्ययोजना बनाएर निर्धारित क्यालेन्डरअनुसार सङ्गठन सञ्चालन गर्ने बताएका छन्। उनले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजान मंसिर महिनाभर ‘कांग्रेस तयार छ’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।

नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै थापाले पार्टीका नीति, सङ्गठन सुधारका योजना र आगामी कार्यदिशालाई समेटेर एकीकृत कार्ययोजना तयार गरिने जानकारी दिएका हुन्।

ad

उनका अनुसार उक्त कार्ययोजना पार्टी कार्यालयले तयार पार्नेछ र आगामी बैठकमा पेस गरिनेछ। त्यसपछि पार्टीका गतिविधि निर्धारित कार्यतालिकाअनुसार अघि बढाउने तयारी छ।

वडा तहसम्म नीति तथा कार्यक्रम पुर्‍याइने
थापाले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमलाई केन्द्रीय तहमा मात्र सीमित नराखी वडा तहका सदस्यदेखि समर्थक र आम नागरिकसम्म पुर्‍याउनुपर्नेमा जोड दिए।

पार्टीले लिएका नीति, सङ्गठन सुधारका योजना र मुलुकका समसामयिक समस्याबारे कांग्रेसको धारणा नागरिकसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्न अभियान सञ्चालन गरिने उनको भनाइ छ।

मंसिरभर चलाइने ‘कांग्रेस तयार छ’ अभियानमार्फत पार्टीले देशका वर्तमान चुनौती समाधान गर्न र नागरिकका आकाङ्क्षा सम्बोधन गर्न आफू तयार रहेको सन्देश प्रवाह गर्ने थापाले बताए।

समीक्षा र आत्मालोचनाबाट अब कार्यान्वयनतर्फ
थापाले पार्टीभित्र समीक्षा र आत्मालोचनाको चरण पूरा भएकाले अब जिम्मेवारी लिएर अघि बढ्नुपर्ने बताएका छन्। प्रतिपक्षमा रहँदा, स्थानीय सरकार सञ्चालन गर्दा तथा राष्ट्रिय राजनीतिक शक्तिका रूपमा कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिका प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई विगतका समीक्षा र छलफलमा मात्र अल्झिनुभन्दा आगामी कार्ययोजना कार्यान्वयनमा केन्द्रित हुन आग्रह गरे।

महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमलाई व्यवस्थित कार्ययोजनामा रूपान्तरण गरी समयसीमाभित्र कार्यान्वयन गर्नु र त्यसको प्रभाव वडा तहदेखि राष्ट्रिय राजनीतिसम्म पुर्‍याउनु पार्टीको आगामी प्राथमिकता हुने थापाको भनाइ छ।

चार वर्षे कार्ययोजना र मंसिर महिनाभरको विशेष अभियानमार्फत पार्टीका नीति, सङ्गठनात्मक सुधार र राजनीतिक जिम्मेवारीलाई एकीकृत रूपमा अघि बढाउने कांग्रेसको तयारी छ।