काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मुलुकले लोकतान्त्रिक आन्दोलनमा समर्पित निष्ठावान्, निडर र अनुभवी नेता गुमाएको बताएका छन्।

श्रेष्ठको निधनपछि जारी शोक सन्देशमा थापाले उक्त समाचारले आफूलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन्। उनले नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन निर्माण तथा लोकतन्त्रको संरक्षणमा श्रेष्ठले निर्वाह गरेको भूमिका सधैं प्रेरणाको स्रोत रहने बताएका छन्।

ad

थापाले गोपालमान श्रेष्ठजस्ता समर्पित र सिद्धान्तनिष्ठ नेताको निधन नेपाली कांग्रेस मात्र नभई समग्र राष्ट्रकै लागि अपूरणीय क्षति भएको उल्लेख गरेका छन्।

उनले स्याङ्जाबाट सुरु भएको श्रेष्ठको राजनीतिक यात्राले नेपाली राजनीतिमा विशिष्ट योगदान दिएको स्मरण गर्दै कार्यवाहक सभापति, पूर्व उपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा उनले पार्टी र देशका लागि पुर्‍याएको योगदान अविस्मरणीय रहेको बताएका छन्।

सभापति थापाले दिवंगत श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्। साथै, श्रेष्ठले देखाएको निष्ठा, समर्पण र लोकतान्त्रिक मूल्यको मार्गलाई निरन्तर पछ्याइरहने प्रतिबद्धता समेत जनाएका छन्।